काठमाडौं । अविरल वर्षापछि आएको पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात अस्तव्यस्त बनेको छ। काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्ड पहिरो तथा कटानका कारण अवरुद्ध भएका छन्।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द रहने जनाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। सिन्धुपाल्चोकमा पहिरो र सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेको छ भने वडा नम्बर २ कोदारीको इकु क्षेत्रमा पहिरो तथा लिपिङमा सडक भासिएपछि यातायात प्रभावित भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा बन्द भएको छ। यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग समेत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिक्रिया