काठमाडौं । साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। काठमाडौंमा झरी परिरहे पनि शिवभक्तहरू छाता ओढ्दै र पानीमा भिज्दै लामबद्ध भएर पशुपतिनाथको दर्शनका लागि पुगेका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन्। गौशाला, जयवागीश्वरी, मित्रपार्क, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, बागमती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ। गौरीनगरसम्मै भक्तजनको लाम पुगेको छ।
साउनको अन्तिम सोमबार विशेष पूजा तथा दर्शनका लागि आउने भक्तजनको सहज र सुरक्षित व्यवस्थापन गर्न कोषले सुरक्षा तथा सेवा व्यवस्थालाई थप प्रभावकारी बनाएको छ। सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि बिहानैदेखि उल्लेख्य उपस्थिति छ।
दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक–सामाजिक संघसंस्थाका प्रतिनिधि परिचालित छन्। सवारी आवागमन सहज बनाउन गौशाला, जयवागीश्वरी, सिफल, मित्रपार्क, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ।
मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुलेका छन् भने आरतीपछि राति ८ बजेसम्म दर्शनका लागि खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
पशुपति क्षेत्रमा भक्तजनका लागि प्राथमिक उपचारसहितका स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। विभिन्न संघसंस्थाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।
काठमाडौंका गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवसहित देशभरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।







प्रतिक्रिया