चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी सुरु भएको छ। चीन सरकारको सहयोगमा करिब ८४ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक–नर्सलाई विशेष तालिम दिने परियोजना अघि बढाइएको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार चीनबाट आएको प्राविधिक टोलीले दुई सातासम्म अस्पतालमा बसेर आवश्यक पूर्वाधार, भवन निर्माण तथा प्राविधिक व्यवस्थापनका विषयमा अध्ययन तथा छलफल गरेको छ। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग समेत समन्वय गरेको थियो।
उनका अनुसार नेपाल सरकारसँग आवश्यक पुनःसम्झौता सम्पन्न भएपछि अस्पतालको अन्तरङ्ग भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिनेछ। चिनियाँ पक्षले सन् २०२६ भित्रै निर्माण सुरु गर्ने लक्ष्य राखेको छ। परियोजनाका लागि चीन सरकारले ३७ मिलियन चिनियाँ युआन (करिब ८४ करोड रुपैयाँ) खर्च गर्नेछ। भवन निर्माणसँगै अत्याधुनिक उपकरण खरिद र आवश्यक जनशक्तिको क्षमता विकासको सम्पूर्ण जिम्मेवारी पनि चीन सरकारले लिनेछ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार पाँच शय्याको बोनम्यारो प्रत्यारोपण युनिट स्थापना गरिनेछ। सुरुमा पुरानो भवनबाट सेवा सञ्चालन गर्ने योजना रहे पनि प्राविधिक मापदण्डका कारण नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको हो। निर्माणस्थलको माटो परीक्षणलगायत प्रारम्भिक तयारी पूरा भइसकेको छ।
हाल बोनम्यारो युनिटका लागि अस्पतालका चिकित्सक र नर्सहरू चीनमा विशेष तालिम लिइरहेका छन्। यसअघि पनि आठ जना स्वास्थ्यकर्मीले विभिन्न अवधिको विशेष तालिम पूरा गरिसकेका छन्। डा. पौडेलका अनुसार यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमै पहिलो हुनेछ। सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता कम हुने, उपचार खर्च घट्ने र नेपाली बिरामीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको सेवा पाउने अपेक्षा गरिएको छ।
वि.सं. २०५१ मा चीन सरकारको सहयोगमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल पनि चिनियाँ चिकित्सकहरू उपचार सेवामा संलग्न छन्। नेपालका साथै भारतबाट समेत बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका छन्।







प्रतिक्रिया