काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्यावलाई लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
लगानी बोर्डको सीईओ पदका लागि दुई दर्जनभन्दा बढी उम्मेदवारले आवेदन दिएका थिए। सिफारिस समितिले प्रारम्भिक छनोटपछि आठ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको थियो। अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धितालको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीन जनामध्ये उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उक्याव विकास अर्थशास्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा काम गरिसकेकी छन्।
उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकासका क्षेत्रमा उनको विशेष अनुभव रहेको बताइएको छ।
सरकारले उक्यावको नेतृत्वमा लगानी बोर्डमार्फत स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, ठूला पूर्वाधार आयोजनाको प्रभावकारी कार्यान्वयन तथा लगानीमैत्री वातावरण थप सुदृढ हुने अपेक्षा गरेको छ।







प्रतिक्रिया