काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा बढ्दो तनावका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकमा सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरू—प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ—अनुपस्थित भएका छन्।
सुनसरी घटनाले राष्ट्रिय बहस सिर्जना गरिरहेको, शान्ति–सुरक्षा र सामाजिक सद्भावबारे गम्भीर चिन्ता व्यक्त भइरहेका बेला सरकारको नेतृत्व गर्ने दुवै व्यक्ति बैठकमा नदेखिएपछि सरकारको संवेदनशीलता र जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जनमत पार्टीलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए। तर, घटनाको प्रत्यक्ष जिम्मेवारी वहन गर्ने सरकारका प्रमुख नेतृत्व भने अनुपस्थित रहे।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरी घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साझा राजनीतिक सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन्।
सरकारको अनुपस्थितिले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ—देश तनावमा रहेका बेला संवादबाट समाधान खोज्ने प्रयासमा सरकार किन सहभागी भएन? प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे सरकारले हालसम्म कुनै औपचारिक स्पष्टीकरण दिएको छैन।







प्रतिक्रिया