काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राइडसेयर श्रमिक गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युलाई राज्यको दमनकारी नीतिको परिणाम भएको आरोप लगाएको छ।
संगठनका अध्यक्ष भीमज्वाला राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकारले गणेश नेपालीलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको दाबी गर्दै राज्यका संरचनाहरू नागरिकको संरक्षणकर्ता नभई “जल्लाद”को भूमिकामा पुगेको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा ट्राफिक जरिवानाको नाममा यातायात श्रमिकमाथि हुने अभद्र व्यवहार, अपमान, अत्याचार र दमनले श्रमिकहरू निरन्तर मानसिक तनावमा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ। गणेश नेपालीको घटनाले देशभरका करिब १३ लाख यातायात श्रमिक त्रसित बनेको संगठनको भनाइ छ।
संगठनले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, मृतकका आश्रित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा ट्राफिक जरिवाना र दण्डका नाममा गरिने दमनकारी अभ्यास तत्काल रोक्न सरकारसँग माग गरेको छ।
यस्तै, सरकारले ल्याउन लागेको जरिवाना वृद्धि सहितको सवारी तथा यातायात ऐन, २०८३ मा रहेका श्रमिक प्रतिकूल व्यवस्थाहरू संशोधन गर्न, यातायात श्रमिकमैत्री नीति लागू गर्न, सडक पूर्वाधार सुधार गर्न तथा श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न पनि संगठनले माग गरेको छ।
संगठनले सडकमा भइरहेका दमन र दुर्व्यवहार अन्त्य नभए गणेश नेपालीजस्ता दुःखद घटनाको पुनरावृत्ति हुन सक्ने चेतावनी दिएको छ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीले मोटरसाइकलमा ह्वीललक लगाएर जरिवाना काटेपछि विरोधस्वरूप आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए। उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो।







प्रतिक्रिया