चितवन । चितवनमा जंगली हात्तीले घरमै पसेर आक्रमण गर्दा एक महिला र उनका चार वर्षीय छोराको ज्यान गएको छ। शनिबार राति भएको घटनाले भरतपुर महानगरपालिका–२३ बेलहट्टा क्षेत्र शोकमा डुबेको छ।
वडा अध्यक्ष दीपक दवाडीका अनुसार राति करिब ११ बजे जंगली हात्तीले पूर्ण बोटेको कच्ची घरमा आक्रमण गरेको थियो। आक्रमणका क्रममा घरभित्र सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार हात्तीलाई भगाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए पनि परिवारले दुई सदस्य गुमाउनुका साथै घरसमेत क्षतिग्रस्त भएको छ।
घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, इलाका प्रहरी कार्यालय गीतानगर, भरतपुर महानगरपालिका–२३, मध्यवर्ती उपभोक्ता समिति तथा सामुदायिक वनका प्रतिनिधिबीच आपत्कालीन छलफल गरिएको थियो।
छलफलबाट हात्ती नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्ने, मृतक परिवारलाई निकुञ्जमार्फत शीघ्र राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन उपाय अघि बढाउने सहमति भएको वडा अध्यक्ष दवाडीले जानकारी दिए।
पछिल्ला वर्षहरूमा चितवन आसपासका बस्तीमा जंगली हात्तीको प्रवेश बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको स्थानीयको गुनासो छ।







प्रतिक्रिया