काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको विवरण सार्वजनिक भएपछि आलोचना चुलिएको छ। विवाद बढेपछि पार्टीले उक्त विवरणलाई ‘कच्चा तथ्याङ्क’ भन्दै स्पष्टीकरण दिएको छ।
रास्वपाले महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क आधिकारिक सदस्यता अभिलेख नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक आवेदनको समष्टिगत विवरण मात्र भएको जनाएको छ। पार्टीका अनुसार नागरिकता वा अन्य आधिकारिक कागजातबाट प्रमाणीकरण भएपछि मात्र सदस्यता कायम हुन्छ।
तर राजनीतिक वृत्तमा भने प्रश्न उठेको छ– देशकै ठूलो निर्णय लिने महाधिवेशनमा किन अप्रमाणित तथ्याङ्क समावेश गरियो? आधिकारिक प्रतिवेदनमै प्रमाणीकरण नभएको विवरण राखिनुले पार्टीको आन्तरिक तथ्याङ्क व्यवस्थापन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी हुन थालेको छ।
पार्टीले उमेरसम्बन्धी त्रुटिको कारण वि.सं. र ई.सं. छनोटमा गल्ती, जन्ममिति प्रविष्टिमा त्रुटि तथा प्राविधिक कमजोरी रहेको दाबी गरेको छ। हालसम्म दर्ता भएका ५ लाख २३ हजार ४६५ आवेदनमध्ये ३ लाख ९० हजार ११२ जनाको मात्र प्रमाणीकरण भएको र बाँकी प्रक्रिया जारी रहेको जानकारी पनि दिएको छ।
विवादपछि रास्वपाले १८ वर्षभन्दा कम उमेर देखिने आवेदन स्वतः रोक्ने, प्रमाणीकरण भएका विवरण पुनः परीक्षण गर्ने तथा प्रणालीमा प्राविधिक सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीले भ्रम सिर्जना भएको स्वीकार गर्दै दुःख व्यक्त गरे पनि आलोचकहरूले महाधिवेशनजस्तो सर्वोच्च निकायमा प्रस्तुत हुने प्रतिवेदनमा अप्रमाणित तथ्याङ्क समावेश हुनु सामान्य त्रुटि नभई संगठनात्मक कमजोरी भएको टिप्पणी गरेका छन्।







प्रतिक्रिया