सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्र हो। बिपी राजमार्गको निर्माणपछि काठमाडौसँगको दूरी छोटिएको र यातायात पहुँच सहज बनेको कारण यस क्षेत्रको पर्यटन सम्भावना झन् बढेको छ । नगरपालिकाभित्र रहेका धार्मिक स्थल, प्राकृतिक दृश्यावलोकनका क्षेत्र, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक महत्वका स्थलहरूलाई व्यवस्थित रूपमा विकास गर्न सकिए पर्यटन स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ । विशेष गरी पछिल्ला वर्षहरूमा सिन्धुलीगढी दरबार र युद्ध संग्रहालयको निर्माण तथा संरक्षणले यस क्षेत्रलाई नेपालकै ‘युद्ध पर्यटन’ (ध्बच त्यगचष्कm) को नयाँ गन्तव्यका रूपमा विकास गरेको छ ।
कमलामाई नगरपालिकाको पर्यटन सम्भावनाको पहिलो आधार यसको प्राकृतिक सम्पदा हो । नगरपालिकाका डाँडाकाँडा, वनजंगल, नदी तथा ग्रामीण बस्तीहरूले पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छन् । विशेष गरी आन्तरिक पर्यटनका लागि यहाँका ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र प्राकृतिक दृश्यहरू महत्वपूर्ण आकर्षण बन्न सक्छन् । पछिल्लो समय ग्रामीण पर्यटनप्रति बढ्दो आकर्षणले कमलामाईका विभिन्न गाउँबस्तीलाई नयाँ अवसर प्रदान गरेको छ ।
धार्मिक पर्यटनका दृष्टिले पनि कमलामाई नगरपालिका महत्वपूर्ण छ । नगरपालिकाको नाम नै प्रसिद्ध कमलामाई भगवती मन्दिरको नामबाट राखिएको हो । वर्षभरि दर्शनार्थी पुग्ने यो मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित छ । धार्मिक पर्यटनलाई स्थानीय संस्कृति र परम्परासँग जोडेर विकास गर्न सकिए यसले स्थानीय व्यवसाय र रोजगारीमा सकारात्मक प्रभाव पार्न सक्छ । निवर्तमान नगरप्रमुखले त यसैको नाममा गीति एल्वम समेत निकाल्नु भएको छ ।
तर कमलामाई नगरपालिकाको सबैभन्दा विशिष्ट र दीर्घकालीन सम्भावना ऐतिहासिक तथा युद्ध पर्यटनमा देखिन्छ । नेपाल–अंग्रेज युद्ध (१८१४–१८१६) का क्रममा भएको सिन्धुलीगढी युद्ध नेपाली वीरता, रणनीतिक कौशल र राष्ट्रिय स्वाभिमानको प्रतीक मानिन्छ। तत्कालीन अंग्रेज सेनालाई नेपाली सेनाले पराजित गरेको यो ऐतिहासिक घटना नेपालको सैन्य इतिहासमा गौरवपूर्ण अध्यायका रूपमा स्थापित छ । यही ऐतिहासिक महत्वलाई पर्यटनसँग जोड्न सकिए कमलामाई नगरपालिकाले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाउन सक्छ ।
विशेष गरी सिन्धुलीगढी दरबार र युद्ध सङ्ग्रहालय यस सम्भावनाका प्रमुख आधार हुन् । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी दरबारको पुनर्निर्माण तथा संरक्षणमा तत्कालीन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीको विशेष भूमिका रहेको छ । नगरपालिकाको पहल तथा नेपाली सेनाको सक्रिय सहकार्यमा दरबारको पुनर्निर्माण सम्पन्न भएको हो । यस कार्यले केवल ऐतिहासिक सम्पदाको संरक्षण मात्र गरेन, भावी पुस्तालाई इतिहाससँग जोड्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्यो ।
दरबारसँगै निर्माण गरिएको युद्ध सङ्ग्रहालयले सिन्धुलीगढी युद्धको इतिहास, प्रयोग भएका सामग्री, सैन्य रणनीति तथा वीर योद्धाहरूको योगदानलाई दस्तावेजीकरण गर्ने कार्य गरेको छ । इतिहास अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकका लागि यो महत्वपूर्ण गन्तव्य बन्न सक्ने क्षमता राख्छ । सग्रहालयको प्रभावकारी व्यवस्थापन, आधुनिक प्रस्तुतीकरण र नियमित प्रचारप्रसार गर्न सकिए यसले हजारौं पर्यटक आकर्षित गर्न सक्छ ।
विश्वका धेरै देशहरूले युद्धसँग सम्बन्धित ऐतिहासिक स्थललाई पर्यटनको प्रमुख आधार बनाएका छन् । यसको उत्कृष्ट उदाहरण जापानको हिरोसिमा हो । दोस्रो विश्वयुद्धमा परमाणु बमको आक्रमणबाट ध्वस्त भएको हिरोसिमा आज विश्वकै प्रसिद्ध युद्ध पर्यटन गन्तव्यका रूपमा परिचित छ। त्यहाँको शान्ति स्मारक, संग्रहालय तथा ऐतिहासिक संरचनाहरू हेर्न वर्षेनी लाखौं पर्यटक पुग्ने गर्दछन् । युद्धको पीडा, इतिहास र शान्तिको सन्देशलाई पर्यटनसँग जोडेर जापानले हिरोसिमालाई विश्वस्तरमा स्थापित गरेको छ ।
त्यसैगरी सिन्धुलीगढीलाई पनि नेपालको युद्ध पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यहाँ केवल दरबार र सग्रहालय मात्र होइन, युद्धसँग सम्बन्धित ऐतिहासिक हातहतियार, पदमार्ग, दृश्यावलोकन स्थल, सैनिक रणनीति प्रस्तुत गर्ने प्रदर्शनी तथा ऐतिहासिक पुनःअभिनय (ज्ष्कतयचष्अब िच्भभलबअतmभलत) जस्ता गतिविधिहरू सञ्चालन गर्न सकिन्छ । यसले पर्यटकलाई इतिहास पढ्ने मात्र होइन, अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ ।
यद्यपि यति धेरै सम्भावना हुँदाहुँदै पनि केही चुनौतीहरू विद्यमान छन् । पहिलो चुनौती पूर्वाधार विकास हो । धेरै पर्यटकीय स्थलसम्म पुग्ने सडक, सूचना केन्द्र, पार्किङ, शौचालय, खानेपानी तथा आवासीय सुविधाहरू अझै पर्याप्त छैनन् । गुणस्तरीय पर्यटनका लागि यी आधारभूत संरचनाहरू अपरिहार्य मानिन्छन् ।
दोस्रो चुनौती प्रचारप्रसारको अभाव हो । सिन्धुलीगढी युद्ध नेपालको गौरवपूर्ण इतिहास भए पनि यसको पर्यटन सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त जानकारी पुगेको छैन । डिजिटल प्लेटफर्म, वृत्तचित्र, अनुसन्धान प्रकाशन तथा पर्यटन महोत्सवमार्फत यसको प्रभावकारी प्रचार आवश्यक छ ।
तेस्रो चुनौती दीर्घकालीन योजना र लगानीसँग सम्बन्धित छ । पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधार बनाउने हो भने स्थानीय सरकार, नेपाली सेना, निजी क्षेत्र तथा स्थानीय समुदायबीच दीर्घकालीन सहकार्य आवश्यक हुन्छ । एकीकृत पर्यटन गुरुयोजना बिना विकासका प्रयासहरू प्रभावकारी हुन सक्दैनन् ।
साथै ऐतिहासिक सम्पदाको संरक्षण अर्को महत्वपूर्ण चुनौती हो। पर्यटकको चाप बढ्दै जाँदा संरचनाको मौलिकता जोगाउने, वातावरणीय सन्तुलन कायम गर्ने तथा सम्पदाको संरक्षण सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिनुपर्छ । विकास र संरक्षणबीच सन्तुलन कायम गर्न नसकिए पर्यटनकै आधार कमजोर बन्न सक्छ ।
निष्कर्षः कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका साथै युद्ध पर्यटनको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । विशेष गरी सिन्धुलीगढी दरबार र युद्ध सग्रहालयलाई केन्द्रमा राखेर युद्ध पर्यटनको अवधारणा विकास गर्न सकिए यसले नगरपालिकाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । तत्कालीन नगर प्रमुख खड्गबहादुर खत्री र नेपाली सेनाको सहकार्यमा सम्पन्न दरबार पुनर्निर्माण कार्यले यस सम्भावनाको बलियो आधार तयार गरिसकेको छ ।
अब आवश्यक छ, दीर्घकालीन योजना, प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र सम्पदाको संरक्षण। यी पक्षमा ध्यान दिन सकिए सिन्धुलीगढी भविष्यमा नेपालको ‘हिरोसिमा’ अर्थात् युद्ध इतिहास र राष्ट्रिय गौरवको पर्यटन केन्द्रका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना रहेको छ । (दिपा भण्डारी, साभारः कमलामाई लेखमाला)







प्रतिक्रिया