२०८३, ५ असार शनिबार

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता


सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, दुग्ध उत्पादनको प्रवद्र्धन र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि करिब १ अर्ब २ करोड १४ लाख रुपैयाँ बराबरको महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत आधुनिक दुग्ध प्रशोधन उद्योग, दाना उत्पादन कारखाना, खानेपानी आयोजना तथा किसानमुखी विभिन्न कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

कोरियाली सरकारको कृषि मन्त्रालय र कमलामाई नगरपालिकाबीच सम्पन्न भएको यस सम्झौताले नगरपालिकामा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको उन्नत गाईपालन व्यवसायलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । विशेषगरी कमलामाई नगरपालिका–५ मा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको डेरी तथा गाईपालन क्षेत्रलाई लक्षित गर्दै प्राप्त भएको यो सहयोगले स्थानीय कृषि तथा पशुपालन क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले यो दिन सम्पूर्ण नगरवासीका लागि गर्व, खुसी र ऐतिहासिक उपलब्धिको दिन भएको बताउनुभयो । उहाँले कृषि, दुग्ध उत्पादन तथा ग्रामीण अर्थतन्त्रको विकासमा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो ।
नगरप्रमुख पोखरेलका अनुसार आधुनिक दुग्ध प्रशोधन उद्योग स्थापना भएपछि स्थानीय रूपमा उत्पादन हुने दूधलाई मूल्य अभिवृद्धि गरेर बजारसम्म पुर्‍याउन सहज हुनेछ । यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ । त्यसैगरी दाना कारखाना सञ्चालनमा आएपछि पशुपालनका लागि आवश्यक दाना स्थानीय स्तरमै उत्पादन हुने भएकाले लागत घट्ने र उत्पादन क्षमता बढ्ने विश्वास गरिएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत समेत आफ्नो खुसी व्यक्त गर्दै यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई हजारौँ किसान परिवारको भविष्यसँग जोडिएको समृद्धिको आधारशिला भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपाल सरकार, गणतन्त्र कोरिया सरकार तथा परियोजनामा संलग्न सम्पूर्ण निकायप्रति आभार व्यक्त गर्नुभएको छ
कमलामाई नगरपालिका पछिल्ला वर्षहरूमा दुग्ध उत्पादनको क्षेत्रमा उल्लेखनीय रूपमा अघि बढिरहेको स्थानीय तह मानिन्छ। कोरियाली सरकारको सहयोगमा सञ्चालन भइरहेको ‘मिल्की वे’ परियोजनाले यस क्षेत्रमा पशुपालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन कोइरालाका अनुसार नयाँ सम्झौताले किसानहरूलाई अझ व्यवसायिक बन्न प्रेरित गर्नेछ । उहाँले विगत पाँच वर्षदेखि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको र अहिलेको सहयोगले त्यस अभियानलाई थप गति दिने बताउनुभयो ।

डा. कोइरालाका अनुसार आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय पशुपालन व्यवस्थापन तथा प्रशोधन उद्योगको स्थापना भएपछि दुग्ध उत्पादनको मूल्य शृंखला अझ प्रभावकारी बन्नेछ । किसानले उत्पादन गरेको दूध संकलन, प्रशोधन तथा बजारीकरणको सम्पूर्ण प्रक्रिया व्यवस्थित भएपछि उनीहरूको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्झौता आदानप्रदान कार्यक्रमका क्रममा डा. कोइरालाले कोरियाली प्रतिनिधिसमक्ष स्थानीय किसानलाई कोरिया लगेर उन्नत पशुपालनसम्बन्धी सीप तथा प्रविधि सिकाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थिया े। यद्यपि कोरियाली पक्षले किसानभन्दा कृषि तथा पशु प्राविधिकलाई प्रशिक्षण दिन आफूहरू इच्छुक रहेको जानकारी दिएको उहाँले बताउनुभयो ।

यसले स्थानीय प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशिक्षित प्राविधिकमार्फत आधुनिक ज्ञान र सीप स्थानीय किसानसम्म पुर्‍याउन सकिने भएकाले दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
‘मिल्की वे’ परियोजनाको पृष्ठभूमि
कमलामाई नगरपालिकामा सञ्चालन भइरहेको ‘मिल्की वे’ परियोजना नेपाल र कोरियाबीचको कृषि सहकार्यको महत्वपूर्ण उदाहरण मानिन्छ । यसअघि सन् २०२२ को डिसेम्बर तथा सन् २०२३ मा कोरियाली सरकारको सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा सिन्धुलीमा परियोजना सञ्चालन गरिएको थियो ।
परियोजनाअन्तर्गत उन्नत होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप उपलब्ध गराइएको थियो । तीमध्ये ५१ किसान परिवारलाई गाई वितरण गरिएको थियो भने नश्ल सुधारका लागि ल्याइएका साँढे राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् ।
उन्नत जातका गाईबाट जन्मिएका बाछीहरू अहिले क्रमशः अन्य किसानलाई हस्तान्तरण गरिँदै आएको छ । यसले उन्नत पशु नश्ल विस्तार गर्न र दूध उत्पादन बढाउन महत्वपूर्ण सहयोग पुगेको स्थानीय कृषकहरुले बताउनुभएको छ ।
‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ स्थापना गरिसकेका छन् । उक्त मोडेलमार्फत व्यवस्थित गोठ व्यवस्थापन, उन्नत पशु स्वास्थ्य सेवा, आधुनिक दुग्ध उत्पादन प्रणाली तथा बजार व्यवस्थापनका अभ्यासहरू कार्यान्वयन गरिएका छन् । यसलाई अन्य स्थानीय तह तथा किसान समूहले समेत अध्ययन गर्ने अवसर पाएका छन् । परियोजनाको सफल कार्यान्वयनले सिन्धुलीलाई भविष्यमा दुग्ध उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना देखिएको छ ।
स्थानीय रोजगारी र अर्थतन्त्रमा प्रभाव
सम्झौताअन्तर्गत सञ्चालन हुने उद्योग तथा पूर्वाधार परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुग्ध प्रशोधन उद्योग, दाना कारखाना र खानेपानी आयोजना सञ्चालनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिले रोजगार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
विशेषगरी युवाहरूलाई कृषि तथा पशुपालन क्षेत्रमा आकर्षित गर्न यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीतर्फ आकर्षण बढिरहेका बेला स्थानीय स्तरमै आम्दानीका अवसर सिर्जना हुनुले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ ।
दुग्ध उत्पादनसँग सम्बन्धित यातायात, प्रशोधन, प्याकेजिङ, वितरण तथा बजार व्यवस्थापन क्षेत्रमा समेत नयाँ अवसर सिर्जना हुने देखिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
दीर्घकालीन विकासको आधार
बुद्धिजिवी फाल्गुणी शर्माका अनुसार कृषि र पशुपालन क्षेत्रको विकास बिना ग्रामीण अर्थतन्त्रको सुदृढीकरण सम्भव छैन । कमलामाई नगरपालिका र कोरियाली सरकारबीच भएको यो सम्झौताले पूर्वाधार निर्माणसँगै उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने प्रयास गरेको देखिन्छ ।
खानेपानी आयोजनाले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउनेछ भने आधुनिक प्रविधिको प्रयोगले कृषि तथा पशुपालनलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ । यसले कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिक र व्यावसायिक अवस्थातर्फ रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कृषि उत्पादन, पशुपालन, उद्योग र बजार व्यवस्थापनलाई एउटै परियोजनाभित्र समेटेर अघि बढाइएको यो पहल सफल भएमा अन्य स्थानीय तहका लागि समेत नमुना बन्न सक्ने देखिन्छ । स्थानीय सरकार, किसान, प्राविधिक तथा अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यले कमलामाई नगरपालिकालाई कृषि तथा दुग्ध उत्पादनको अग्रणी केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
१ अर्ब २ करोड १४ लाख रुपैयाँ बराबरको यो सहयोग सम्झौताले कमलामाई नगरपालिकामा मात्र होइन, समग्र सिन्धुली जिल्लाको कृषि तथा पशुपालन क्षेत्रको भविष्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । स्थानीय किसानहरूले समेत यसलाई आफ्नो आर्थिक उन्नति र समृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्छ, जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले भन्नुभयो । (साभारः कमलामाई लखमाला)

प्रकाशित मिति : २०८३, ५ असार शनिबार  ४ : ४३ बजे

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे