अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो चुनौती भनेको जेन्जी उपद्रोहको बिध्वंश र त्यसपछि विकास निर्माणमा परिरहेको गतिरोध हो । हाम्रो राष्ट्र्रिय सम्पदाहरु सिंहदरवार, त्यसमा रहेको डाटासेन्टर, न्यायालय, जिल्ला प्रशासन, सरकारी कार्यालय र निजी सम्पति माथिको आगजनी र लुटपाटको संक्रमण नेपालको विकासलाई २० औं वर्ष पछाडि धकेलिदिएको छ ।
नेपालको राजनीतिक अवस्था पछिल्लो समय विभिन्न उतारचढावबाट गुज्रिरहेको छ । राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा, जनअपेक्षाको वृद्धि तथा सामाजिक सञ्जालको गलत प्रयोगले राजनीतिक वातावरणलाई थप संवेदनशील बनाएको छ । यस्तै परिवेशमा देखिएको उपद्रब र त्यसपछिका आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिमा भएको क्षतिले राज्य संयन्त्रलाई ती संरचना ठड्याउन नयाँ चुनौती खडा गरेको छ । यससँगै विकास निर्माणका योजनाहरू प्रभावित भएका छन् भने विभिन्न तहका विकास बजेटमा कटौती हुँदा स्थानीय सरकारको जिम्मेवारी झन् बढेको छ ।
लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई आफ्ना विचार र असन्तुष्टि व्यक्त गर्ने अधिकार हुन्छ । तर आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि हुनु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन । यस्ता घटनाले राज्यको आर्थिक स्रोतमा नोक्सानी पुर्याउनुका साथै विकास निर्माणका कार्यहरूलाई समेत प्रभावित बनाउँछन् । सरकारी कार्यालय, अड्डा अदालत,प्रासन जस्ता सार्वजनिक संरचनामा भएको क्षतिले आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर गरिरहेको छ ।
वर्तमान परिस्थितिमा विकास निर्माणका लागि विनियोजित बजेट जेनजी सरकारले कटौटी गरेपछि कमलामाई नगरपािलकाका धेरै योजनाहरु अलपत्र परेका छन् । संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा जाने अनुदान र सामाजिक सुरक्षाका सञ्चालित योजनाहरू प्रभावित बनेको छ । कतिपय स्थानीय तहले प्राथमिकताका योजनाहरू समेत कार्यान्वयन गर्न कठिनाई भएका छन् । यस्तो अवस्थामा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै विकासका कामलाई निरन्तरता दिनु कमलामाई नगरपालिका र तपाई हाम्रो साझा कर्तव्य बनेको छ ।
स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले आम नागरिकको दुःख सुखमा साथ दिनु मात्रै होइन, सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्नु पर्छ । राजनैतिक अस्थिरता र अराजकता बढेका बेला स्थानीय तहले तल्लो तहका आधारभूत वर्ग, समुदाय, नागरिक समाज र सरोकारवालाबीच संवाद तथा सहकार्यको माध्यमबाट आम नगरवासीको हितका कामहरुलाई अगाडि बढाउनु पर्छ । नगरवासीहरूका गुनासा, अपेक्षा र सुझावलाई सुनुवाइ गर्ने र जनपक्षीय कामहरुलाई अगाडि बढाउन र व्याप्त असन्तुष्टिलाई सकारात्मक दिशातर्फ लैजान सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । यो सहकार्यले भविष्यमा हुने सम्भावित द्वन्द्व तथा अशान्तिलाई न्यूनीकरण गर्न मद्दत पुर्याउँछ ।
यसैगरी, कमलामाई नगरपलिकाले आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम र योजना विकास योजनाको प्राथमिकता पुनः निर्धारण गर्नुपर्ने आवश्यकता देखिएको छ । सीमित बजेटको अवस्थामा नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने क्षेत्रमा विशेष ध्यान दिनुपर्छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न सकेमा कम स्रोतबाट पनि प्रभावकारी परिणाम प्राप्त गर्न सकिन्छ । विकास योजनाको छनोट गर्दा राजनीतिक प्रभावभन्दा जनआवश्यकतालाई केन्द्रमा राख्नुपर्ने आवश्यकता पछिल्लो जेनजी उपद्रोहले अझ बढी देखिएको छ ।
स्थानीय समुदायमा पछाडि पारिएका समुदाय र युवाहरूलाई विकास प्रक्रियामा सहभागी गराउनु पनि स्थानीय तहको अर्को महत्वपूर्ण दायित्व हो । हालको पुस्ता सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्न सक्रिय छ । उनीहरूलाई केवल आन्दोलनको शक्ति नभई विकासका साझेदारका रूपमा परिचालन गर्न सकिएमा स्थानीय विकासमा सकारात्मक ऊर्जा सिर्जना हुन सक्छ ।
पारदर्शिता र सुशासनको पक्ष पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । एकातिर विकास बजेट कटौती र अर्कातिर योजना मागगर्दै आएको निवेदनको चाङले उपलब्ध स्रोतको प्रभावकारी र पारदर्शी उपयोगप्रति नागरिकको चासो बढ्नु स्वाभाविक मान्नुपर्छ । कमलामाईले सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा नियमित सूचना प्रवाहमार्फत जनविश्वास कायम राखिरहेको छ । त्यसैले नागरिकले आफ्नो कर र सार्वजनिक स्रोतको सदुपयोग भएको अनुभूति गर्छन्, तब विकासप्रति उनीहरूको अपनत्व र सहयोग पनि स्वतः बढ्दै जानेछ ।
निष्कर्ष
बदलिँदो राजनीतिक अवस्था, जेन्जी उपद्रोहपछिको सामाजिक प्रभाव, आगजनी तथा तोडफोडका घटनाले समग्र कमलामाईको विकास यात्रामा ठूला चुनौतीहरु थपिएका छन् । विकास बजेट कटौतीले यी चुनौतीलाई अझ जटिल बनाएको छ । तर यस्ता परिस्थितिमा कमलामाईले समन्वय, संवाद, सुशासन, प्राथमिकतामा आधारित विकास योजना तथा आधारभूत वर्गको सहभागितालाई केन्द्रमा राखेर काम गर्न सकेमा चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ । स्थानीय सरकारको सक्रिय, जिम्मेवार र दूरदर्शी भूमिकाले मात्र दिगो विकास, सामाजिक सद्भाव र नागरिक विश्वासलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । लेखक कमलामाई नगरपालिका ७ का वडाध्यक्ष हुनुहुन्छ । (साभारः कमलामाई लेखमाला)








प्रतिक्रिया