२०८३, ३ जेष्ठ सोमबार

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाइँदै

नेताहरुको कार्यविभाजन केन्द्रित एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाइँदै


काठमाडौं । सत्तारुढ दल नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकको मुख्य एजेण्डा नेताहरुको कार्यविभाजन र संगठन सुदृढीकरण रहनेछ ।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरुको जिम्मेवारी टुंगो नलागेकाले आजको बैठकलाई एमालेभित्र विशेष महत्वका साथ हेरिएको छ ।

पार्टी स्रोतका अनुसार एमालेले अब संगठनलाई पालिकास्तरसम्म प्रभावकारी ढंगले परिचालन गर्ने रणनीति अघि बढाएको छ । सोहीअनुसार प्रत्येक केन्द्रीय सदस्यलाई पालिकास्तरको इञ्चार्ज बनाएर खटाउने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको जनाधार थप मजबुत बनाउने, संगठनलाई चलायमान बनाउने तथा जनतामाझ प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यसहित यस्तो मोडालिटी ल्याउन लागिएको बताइएको छ ।

बैठकमा केन्द्रीय विभाग, जनसंगठन तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ । महाधिवेशनपछि नेतृत्व चयन भए पनि जिम्मेवारी बाँडफाँट ढिलाइ हुँदा पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला सचिवालय बैठकबाट त्यसलाई टुंगो लगाउने अपेक्षा गरिएको छ ।

यस्तै, फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । पार्टीले पछिल्लो राजनीतिक अवस्थाबारे व्यापक समीक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी गरेको एमाले नेताहरुले बताएका छन् ।

बैठकमा सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाएको शैली, विस्थापित नागरिकको व्यवस्थापन तथा सरकारका पछिल्ला कामकारबाहीका कारण जनतामा परेको असरबारे पनि गम्भीर छलफल हुने एमाले स्रोतले जनाएको छ । विपक्षी दलमाथि राजनीतिक प्रतिशोध साँध्ने र जनजीविकाका सवाल बेवास्ता गर्ने काम भएको भन्दै एमालेले सरकारको आलोचना गर्ने तयारी गरेको बुझिएको छ ।

एमालेभित्र अहिले संगठन पुनः सक्रिय बनाउने, कार्यकर्तालाई पुनर्गठित गर्ने र स्थानीय तहसम्म पार्टीको पकड बलियो बनाउने अभियान तीव्र पारिएको छ । सचिवालय बैठकलाई सोही अभियानको निर्णायक सुरुवातका रूपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  १० : ४२ बजे

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज

खेलकुद र नेतृत्वमा अखिल महासचिव अन्जना शिवाकोटीको नयाँ उचाइ, हासिल गरिन् ५औँ डान ब्ल्याक बेल्ट

काठमाडौं । आज ललितपुरस्थित त्रिभुवन आर्मी क्लब मा ग्रान्ड मास्टर

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको

राजावादीकै कार्यक्रममा अपमानित कमल थापा, आक्रोशमा युवकको घाँटी समाते

काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेर वर्षौंदेखि राजनीति गर्दै आएका कमल