काठमाडौं। नेकपा एमाले का प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ। बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेल ले पछिल्लो मतपरिणाम र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका छन्।
पोखरेलले हालका चुनावी परिणामका आधारमा लोकप्रियतावाद र अराजकतावादको जगमा केही नयाँ शक्ति उदाएको दाबी गरे। उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रति संकेत गर्दै त्यस्ता शक्तिहरूमा लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको टिप्पणी गरे।
उनका अनुसार यस्ता राजनीतिक शक्तिहरूसँग राष्ट्र र राष्ट्रियतासम्बन्धी स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि अभाव रहेको छ। उनले भने, “छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने प्रवृत्ति देखिए पनि व्यवहारमा त्यस्ता शक्तिले अपेक्षित परिणाम दिन सक्दैनन्।”
महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली तथा एमालेविरुद्ध “नयाँ र पुरानो अनुहार” भन्ने नारामा आधारित प्रचारमार्फत जनतालाई भ्रमित पारिएको आरोप लगाए। डिजिटल माध्यमको प्रयोग गरी फैलाइएको यस्तो प्रचार लोकप्रियतावादकै एउटा रूप भएको उनको भनाइ थियो।
पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गरे। उनका अनुसार समाजका हरेक तह र घरघरमा एमालेको उपस्थिति कायम रहेको छ।
उनले पार्टीले अब नयाँ ढङ्गले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने उल्लेख गरे। साथै, अल्पकालीन लोकप्रियतामा आधारित शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनता स्थिर विचार र सुदृढ संगठन भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गरे।








प्रतिक्रिया