सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले सर्लाही क्षेत्र नं. ४ लक्षित चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। पार्टीको केन्द्रीय प्रतिज्ञा पत्र सार्वजनिक भएको पाँच दिनपछि उनले स्थानीय आवश्यकता र मधेस–केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्षेत्रगत योजना अघि सारेका हुन्।
मतदातालाई सम्बोधन गर्दै थापाले मधेस लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि भएको उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। हुलाकी राजमार्ग संवादका क्रममा गाउँबस्ती पुगेको स्मरण गर्दै उनले अलपत्र पुल, डुबान समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभाव नजिकबाट देखेको बताए। स्थानीयसँगको छलफलपछि समस्याको पहिचान गरी कार्ययोजना तयार गरिएको उनको भनाइ छ।
“कापी कलम अभियान” अन्तर्गत गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति, मातृभाषामा शिक्षा सुनिश्चित गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। छोरीहरूको शिक्षालाई प्रोत्साहन गर्न “सबल छोरी अभियान” सञ्चालन गरिने उल्लेख छ।
“स्वस्थ नागरिक अभियान” अन्तर्गत स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार, सर्पदंश तथा कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक सेवा, कुपोषण न्यूनीकरण कार्यक्रम र लागुऔषधविरुद्ध अभियान सञ्चालन गरिने बताइएको छ। आधुनिक उपकरणसहित मधेस मिर्गौला उपचार केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ।
“कृषि उत्थान, किसान गौरव अभियान” अन्तर्गत उखु बक्यौता भुक्तानी, मल–बिउको सहज उपलब्धता, शीत भण्डार निर्माण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने र सहुलियत ऋण उपलब्ध गराउने योजना समेटिएको छ। सर्लाहीमा आपत्कालीन मल भण्डार स्थापना र मधेसमा मल कारखाना ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बाढी तथा डुबान समस्या समाधानका लागि बागमती नदी क्षेत्रमा तटबन्ध निर्माण, मनुस्मरा नहर बाँध मर्मत, अर्ली वार्निङ प्रणाली जडान, वृक्षारोपण तथा पानी संरक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ। साथै चुरे संरक्षण अभियानलाई पनि प्राथमिकता दिइने उल्लेख छ।
“मिसन रोजगारी अभियान” अन्तर्गत सीप विकास तालिम, रोजगार सूचना केन्द्र स्थापना, युवा उद्यमशीलता प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई उद्यममा जोड्ने कार्यक्रम सञ्चालन गरिने योजना छ।
भारतसँग जोडिएको करिब ३० किलोमिटर सीमा क्षेत्रमा “दशगजा उज्यालो अभियान” सञ्चालन गरी हाईमास्ट सौर्य बत्ती जडान, छोटी भन्सार व्यवस्थापन र सीमावर्ती गाउँमा विशेष विकास कार्यक्रम सञ्चालन गरिने प्रतिज्ञा गरिएको छ।
सभापति थापाले क्षेत्रमै “जनता दलान” नामक सांसद कार्यालय स्थापना गरी नागरिकका समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि पहल गर्ने बताएका छन्। सुशासन र समुन्नतिलाई प्राथमिकतामा राख्दै उनले आफूलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन्।






प्रतिक्रिया