२०८३, ११ श्रावण मंगलबार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद


सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा भएको डकैती घटना योजनाबद्ध तथा संगठित अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी २ करोड ६६ लाख रुपैयाँभन्दा बढी नगद तथा हतियार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे डकैत समूहले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो। खुकुरी देखाएर त्रास सिर्जना गरिएको र प्रतिकार गर्ने क्रममा सुरक्षा गार्ड घाइते भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली तत्काल घटनास्थल पुगेको थियो। सुरक्षा गार्ड र कर्मचारीलाई दुई फरक कोठामा बाँधिएको अवस्थामा उद्धार गरी उपचार तथा सुरक्षा व्यवस्था मिलाइएको थियो। घटनालाई गम्भीर अपराध मानेर प्रहरी उपरीक्षकको नेतृत्वमा ५० सदस्यीय विशेष टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलाबाट बा २ डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा पक्राउ परेका थिए। प्रारम्भिक सोधपुछमा विवाहको प्रयोजन भन्दै बनेपाबाट सवारी साधन रिजर्भ गरिएको खुलेको प्रहरीले जनाएको छ।

त्यसै राति जंगलका विभिन्न स्थानमा लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको थियो। थप अनुसन्धानपछि अन्य चार जना पक्राउ परे र उनीहरूको बयानका आधारमा बाँकी रकमसमेत फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानले डकैती योजनामा स्थानीय दुई व्यक्तिको निर्णायक भूमिका रहेको देखाएको छ। घ्याङलेख–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जुले असोज महिनादेखि बैंकको गतिविधि, सुरक्षा प्रबन्ध र नगद कारोबारको सूक्ष्म अध्ययन गर्दै डकैतीको योजना बनाएको खुलेको हो। स्याङ्तानलाई धरानबाट र बज्जुलाई स्थानीय जंगल क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका चालक भगवत सिंह थापा, सिन्धुलीका छविलाल स्याङ्तान र चतुरमान बज्जु, चितवनका शशाङ्क श्रेष्ठ, नुवाकोटका मिलन गिरी र विवेक मगर तथा एक जना १६ वर्षे नाबालक रहेका छन्। नाबालकको पहिचान कानुनी कारणले गोप्य राखिएको छ।

प्रहरीका अनुसार हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिक पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरिएको छ।

डकैती तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेकाहरूविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ। घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  १२ : ११ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि