काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयबाट अनशनरत नेतृ नानीमैया दाहाललाई जबरजस्ती निकालिएको छ। प्रत्यक्षदर्शीका अनुसार उनलाई लछारपछार र दुर्व्यवहार गर्दै बाहिर निकालिएको हो।
पार्टीको समानुपातिक सूची सच्याउन माग गर्दै नानीमैया दाहाल गत शुक्रबारदेखि पार्टी कार्यालयभित्रै आमरण अनशनमा बसेकी थिइन्। आज संस्थापन पक्षीय महिलाहरू कार्यालय पुगेपछि अनशनस्थलमै तनाव चर्किएको थियो।
नानीमैयाले कार्यालय नछोड्ने अडान लिएपछि केहीबेरमै उनलाई बल प्रयोग गरी बाहिर निकालिएको एक नेतृले जानकारी दिइन्। घटनापछि बेहोसजस्तै अवस्थामा पुगेकी नानीमैयालाई प्रहरीको सहयोगमा ओम अस्पताल भर्ना गरिएको छ।
राप्रपाभित्र घटनापछि तीव्र असन्तोष देखिएको छ। एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनले अनशनरत नेतृसँग संवादसमेत नगर्नु पार्टी नेतृत्वको कठोरता हो। ‘शान्तिपूर्ण रूपमा माग राख्दा पनि राजनीतिक व्यवहार गरिएन, बरु दमन भयो,’ ती केन्द्रीय सदस्यले प्रतिक्रिया दिए।
उता, राप्रपा संस्थापन पक्षले भने पार्टी बैठकबाट समानुपातिक उम्मेदवार चयन भइसकेको भन्दै विरोधको औचित्य नरहेको दाबी गर्दै आएको छ। घटनाले राप्रपाभित्रको आन्तरिक विवादलाई नयाँ उचाइमा पुर्याएको छ।






प्रतिक्रिया