२०८३, २७ भाद्र आईतबार

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

‘गोली चलायौ भने हामी पनि चलाउँछौं’


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर इरानी नेतृत्वलाई दोस्रो पटक कडा चेतावनी दिएका छन्। प्रदर्शन दबाउने नाममा प्रदर्शनकारीमाथि गोली चलाइए इरानी नेतृत्वमाथि प्रत्यक्ष आक्रमण गरिने चेतावनी ट्रम्पले दिएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तिमीहरूले प्रदर्शनकारीमाथि गोली चलायौ भने हामी पनि तिमीहरूमाथि चलाउँछौं।” अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पको यो चेतावनी इरानको सर्वोच्च नेतृत्व लक्षित थियो।

इरानमा पछिल्ला दुई सातायता चर्किएको आन्दोलनलाई नियन्त्रण गर्न सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ। मानवअधिकार संस्था एचआरएएनएका अनुसार डिसेम्बर २८ देखि सुरु भएका प्रदर्शनमा हालसम्म कम्तीमा ६२ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मी रहेका छन्।

शुक्रबारसम्म प्रदर्शन देशव्यापी बनेको छ। सबै ३१ प्रान्तका एक सयभन्दा बढी सहरमा लाखौं मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर इरानका सरकारी सञ्चारमाध्यमहरूले प्रदर्शन सीमित रहेको दाबी गर्दै परिस्थिति नियन्त्रणमा रहेको सन्देश प्रवाह गरिरहेका छन्।

आन्दोलन सुरुमा बढ्दो महँगी, इरानी मुद्रा रियालको अवमूल्यन र सरकारको आर्थिक नीतिविरुद्ध केन्द्रित थियो। पछिल्लो समय भने आन्दोलन प्रत्यक्ष रूपमा सत्ता र सर्वोच्च नेता आयतोल्लाह अली खामेनी लक्षित नारामा रूपान्तरण भएको छ। प्रदर्शनकारीहरूले खामेनीको राजीनामाको माग गर्दै पूर्व शाहका छोरा रेजा पहलवीको समर्थनमा नाराबाजी गरिरहेका छन्।

रेजा पहलवी हाल अमेरिकामा निर्वासनमा रहेका छन्। यद्यपि राष्ट्रपति ट्रम्पले उनीसँग तत्काल भेटघाट गर्ने कुनै योजना नरहेको बताएका छन्। यसलाई वासिङ्टनले अवस्था हेरेर मात्रै विपक्षी नेतृत्वलाई समर्थन गर्ने संकेतका रूपमा लिएको विश्लेषण गरिएको छ।

इरानका सर्वोच्च नेता खामेनीले टेलिभिजन सम्बोधनमार्फत आन्दोलनकारीहरू विदेशी शक्तिको उक्साहटमा लागेको आरोप लगाएका छन्। उनले इस्लामिक गणतन्त्र सयौं हजार शहीदको रगतबाट स्थापना भएको भन्दै आन्दोलनलाई अराजकता र तोडफोडको संज्ञा दिएका छन्। तेहरानका सरकारी वकिलले सुरक्षाकर्मीमाथि आक्रमण वा तोडफोडमा संलग्नलाई मृत्युदण्डसम्म हुन सक्ने चेतावनी दिएका छन्।

यसबीच फ्रान्स, बेलायत र जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्याको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न इरान सरकारलाई आग्रह गरेको छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आन्दोलन थप चर्किए सर्वोच्च नेता खामेनी देश छाड्न सक्ने सम्भावनाबारे पनि रिपोर्ट गरेका छन्। बेलायती अनलाइन द टाइम्स ले गुप्तचर स्रोत उद्धृत गर्दै खामेनीले ‘प्लान बी’ तयार अवस्थामा राखेको दाबी गरेको छ।

विश्लेषकहरूका अनुसार ४० प्रतिशत नाघेको मुद्रास्फीति, रियालको तीव्र अवमूल्यन र युद्धपछिको आर्थिक संकटका कारण इरान पछिल्ला वर्षकै सबैभन्दा ठूलो आन्तरिक चुनौतीको सामना गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २६ पुस शनिबार  ९ : ३५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।