काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान करिब ११ बजेतिर क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेको थियो।
जिपमा चालकसहित ६ जना सवार थिए। घटनास्थलमै २ जनाको मृत्यु भएको र घाइतेहरूको उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन्।
घाइते हुनेमा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी, र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।






प्रतिक्रिया