विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण अवस्था सिर्जना भएको छ। उपाध्यक्ष गुणवतीदेवी थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नमोनारायण माझी पक्षधरहरू कार्यालय पुगेपछि स्थिति तनावग्रस्त बनेको हो।
प्रदर्शनमा सहभागीहरूले आफू अध्यक्षका समर्थक नभई ग्रामथानका स्थानीय बासिन्दा भएको दाबी गरेका छन्। उनीहरू पालिकाको कामकाज अवरुद्ध भएको भन्दै तत्काल ताला खोल्नुपर्ने मागसहित प्लेकार्ड लिएर कार्यालय पुगेका थिए।
लेखा शाखाको ढोकाअगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका जनप्रतिनिधिहरू बसेर ताला खोल्न अस्वीकार गर्दै धर्नामा बसेका थिए। यसैबीच, ताला खोल्न माग गर्दै पुगेका समूहले लेखा शाखामा लगाइएको ताला फोडेका छन्। उनीहरूले पालिकाको नियमित कामकाज सञ्चालन गर्न बाध्य भएर ताला फोडिएको दाबी गरेका छन्।
घटनाका क्रममा अध्यक्ष र उपाध्यक्ष पक्षधरबीच हात हालाहालको अवस्था पनि सिर्जना भएको थियो। तर सुरक्षामा खटिएको प्रहरीले तत्काल हस्तक्षेप गरी दुवै पक्षलाई नियन्त्रणमा लिँदै ठूलो झडप हुनबाट रोकेको छ।
ग्रामथान गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको आन्तरिक विवादका कारण पछिल्ला दिनहरूमा पालिकाको कामकाज प्रभावित हुँदै आएको छ। स्थानीय प्रशासन र प्रहरीको उपस्थितिमा अहिले अवस्था सामान्य बनाइएको छ।






प्रतिक्रिया