नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै प्रेस चौतारी नेपालसँगको भेटमा राखेका प्रश्न सामान्य लागे पनि गहिरो सन्देश बोकेका छन् । उनले भने–“आफू बोल्दा वाक् स्वतन्त्रता, अरू बोल्दाचाहिँ झोले ट्रेन्ड ? यो कसले फैलाउँदैछ नेपालमा ?” यो प्रश्न केवल उनको व्यक्तिगत गुनासो होइन, वर्तमान राजनीतिक संस्कृतिमाथिको गम्भीर टिप्पणी हो । के नेपालका राजनीतिक दलहरुलाई अपराधीकरकण गर्न खोजेको हो ? वाक् स्वतन्त्रताको पनि नाममा दोहोरो मापदण्ड हुन्छ र ? नेपाल लोकतान्त्रिक गणतन्त्र हो । संविधानले सबै नागरिकलाई वाक् स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको छ । तर विडम्बना के छ भने, जब ओली बोल्छन्, त्यसलाई “तानाशाही”, “संविधानविरोधी” वा “एजेन्डावादी” भनेर खारेज गर्नेहरू नै अरू बेला वाक् स्वतन्त्रताको रक्षाका ठूला–ठूला भाषण गर्छन् ।
यसरी हेर्दा ओलीले उठाएको प्रश्न एकदमै जायज छ । आखिर वाक् स्वतन्त्रता सबैका लागि बराबर अधिकार हो कि केवल अरूलाई मात्र ? यदि ओलीले देश विकास, राष्ट्रिय एकता वा भ्रष्टाचारविरुद्ध बोले भने त्यो वाक् स्वतन्त्रता होइन र ? अरूले बोलेपछि मात्रै त्यो अधिकार मान्य हुन्छ ? यो दोहोरो मापदण्ड नै बनाउन खोज्नु नै अहिलेको समस्या हो । वाक् स्वतन्त्रताको नाममा ओलीलाई चुप गराउन खोज्ने, तर आफूलाई आलोचना भए झोले ट्रेन्ड भनेर फुकाल्ने प्रवृत्ति नेपालमा गहिरिँदै गएको छ । यो विषय गम्भीर छ ।
ओलीले स्पष्ट भने “भ्रष्टाचार नगर्नु नै मेरो अपराध भएको छ ।” यस वाक्यमा उनको पीडा मात्र होइन, देशको वास्तविकता पनि प्रतिबिम्बित हुन्छ । नेपालमा इमानदार नेतृत्वलाई कमजोर बनाइन्छ, प्रहार गरिन्छ, तर भ्रष्टाचारमा डुबेकाहरूलाई संरक्षण दिइन्छ । यो देशमा राजनीतिकर्मीहरु सबै भ्रष्टाचारी हुन भनेर जुन ट्रेन्ड चलाईरहेको छ, यो विषय गम्भीर छ । बहस गरौ के सबै राजनीतिकर्मीहरु हुन् ?
ओलीले आफ्नो जीवनकालमा देखाएका कामहरू यसैको प्रमाण हुन् । प्रधानमन्त्री हुँदा उनले देशलाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बनाउने पहल गरे । छिमेकी मुलुकसँग पारवहन सन्धि गरेर नेपालको पहुँच समुद्रसम्म पुर्याए । यो सानो उपलब्धि थिएन । तर यस्तो ठूला काम गर्दा पनि उनीमाथि “तानाशाही”, “सत्तालोलुप” जस्ता आरोपहरू थोपारिए । उनको अपराध के थियो ? भ्रष्टाचार नगर्नु, विकासको खाका कोर्नु र राष्ट्रिय स्वाभिमानको झण्डा फहराउनु । यही कुरा आज उनको प्रश्नमार्फत फेरि उजागर भएको छ ।
आजभोली झोले ट्रेन्ड कसले फैलायो ? नेपालको राजनीतिक संस्कृतिमा पछिल्ला वर्षमा “झोले” भन्ने शब्द अत्यधिक प्रयोग हुन थालेको छ । फरक विचार राख्ने, सत्ता-संरचनालाई चुनौती दिने वा सत्ताविरोधी स्वर उठाउने जो-कोहीलाई झोले भनेर अपमान गर्ने प्रवृत्ति संस्थागत भइसकेको छ । ओलीको प्रश्न यहीं प्रहार गर्छ- “कसले फैलायो यो झोले ट्रेन्ड नेपालमा ?” वास्तविकता के हो भने, यो संस्कृति सधैं सत्ता-विरोधी होइन, कहिलेकाहीँ सत्ता-पक्षीलाई पनि कमजोर बनाउन प्रयोग हुन्छ । तर पछिल्लो समयमा खासगरी ओलीको नेतृत्वलाई कमजोर पार्न, उनको विचारलाई खारेज गर्न, समर्थकलाई हतोत्साहित गर्न यो प्रवृत्ति योजनाबद्ध रूपमा प्रयोग भइरहेको छ ।
जब ओली बोल्छन्, त्यसलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुको सट्टा उनको भाषणलाई काटछाँट गरेर ‘मिम’ बनाइन्छ, व्यङ्ग्य उडाइन्छ र सामाजिक सञ्जालमा “झोले” भनेर ट्रेन्डिङ गराइन्छ । यसले लोकतान्त्रिक बहसलाई होइन, तुच्छ राजनीति र चरित्र हत्या गर्ने संस्कृतिलाई बल पुर्याएको छ । यो ट्रेन्डिङले ओलीको राष्ट्रवादी छवि र योगदानलाई खारेज गर्न सकिन्छ र ? आलोचकहरू जे भने पनि, ओलीले आफ्नो कार्यकालमा गरेका केही कामहरू ऐतिहासिक छन् । भारतसँग नाकाबन्दी भएको बेला वैकल्पिक नाकाबन्दी व्यवस्थापन गरेर देशलाई बचाए । नक्सा प्रकाशनमार्फत नेपालको भू-स्वाधीनताको सवालमा दृढ कदम चाले । आधारभूत पूर्वाधार निर्माण, सडक,सुरुङमार्ग, विद्युत् र स्वास्थ्य क्षेत्रमा ठूला योजना अघि सारे । राष्ट्रिय एकताको प्रश्नमा, चाहे वाम एकता होस् वा संघीयताको अभ्यास, नेतृत्व गर्न सके । यी कामहरूको मूल्याङ्कन निष्पक्ष रूपमा गर्न सके लोकतन्त्र बलियो हुन्छ । तर यसको सट्टा, योगदानलाई छायामा पारेर व्यक्तिलाई मात्र निशाना बनाउने प्रवृत्ति बलियो भएको छ ।
ओलीको प्रश्न मूलतः लोकतन्त्रको मेरुदण्डलाई बलियो बनाउने सन्देश हो । वाक् स्वतन्त्रता सबैका लागि बराबर हुनुपर्छ । यो अधिकार केवल आफूले बोल्दा मात्र होइन, अरूले बोले पनि सुनिश्चित हुनुपर्छ । तर वर्तमान अवस्थामा भएको उल्टोपुल्टो प्रवृत्तिले लोकतन्त्रको स्वास्थ्य बिगारिरहेको छ । ओलीले उठाएको प्रश्न “झोले ट्रेन्ड कसले फैलायो ?” यसको जवाफ सत्तामा बस्नेहरूले दिनुपर्छ । किनकि विचारलाई विचारले जित्ने हो, गालीले जित्ने अभ्यास लोकतन्त्र होइन, अराजकता हो ।
ओलीले राखेको प्रश्न केवल व्यक्तिगत बचाउ होइन, यो देशको लोकतान्त्रिक संस्कृतिमाथिको प्रहार हो । भ्रष्टाचार नगर्नु अपराध होइन, त्यो त गर्वको कुरा हुनुपर्ने हो । राष्ट्रको स्वाभिमानलाई ठड्याउनु अपराध होइन, त्यो त नेतृत्वको निष्ठा हुनुपर्ने हो । तर जब यस्तो कुरा बोलिन्छ, त्यसलाई “झोले ट्रेन्ड” बनाएर खारेज गर्ने प्रवृत्ति लोकतन्त्रको भविष्यमाथि खतरा हो । त्यसैले, यो प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बेला आएको छ । वाक् स्वतन्त्रता सबैको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको संवादमा आधारित विचार हो । –सम्पादक
प्रतिक्रिया