काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व शुक्ल पूर्णिमा अर्थात् पूर्णिमासम्म १५ दिनसम्म विभिन्न धार्मिक अनुष्ठान र उल्लासपूर्ण वातावरणमा मनाइन्छ।
बडादसैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ। आज देशभरका घरघरमा विधिपूर्वक घट स्थापना, गणेश पूजा, कलश स्थापनासहित जमरा राख्ने परम्परा निर्वाह गरिएको छ। पूजा कोठा वा विशेष दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी वैदिक विधिअनुसार पूजा आरम्भ गरिएको छ ।
आज बिहानै श्रद्धालुहरूले नित्यकर्म सकेपछि नदी, खोला वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखेका छन्। त्यस माटोमा यव (जौ) को बीउ रोपेर जमरा राखिएको छ । धार्मिक विश्वासअनुसार दुर्गा देवीलाई यव अत्यन्तै प्रिय वस्तु हो, त्यसैले दुर्गाको पूजा आरम्भ गर्दा नै जमरा रोप्ने परम्परा रहेको छ ।
स्थापना गरिएको घट (कलश)मा पवित्र जल भरेर शुद्धता, शक्ति र समृद्धिको प्रतीक स्वरूप दुर्गा देवीको पूजा गरिन्छ। यही घट र जमरा विजया दशमीको दिन, देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ। जमरा पहेँलो र हरियो अंकुरमा परिणत भएपछि टिका लगाउने दिन घरका सदस्य, आफन्त र मान्यजनहरूलाई टिका–प्रसादसहित अर्पण गरिन्छ ।
बडादसैंको प्रमुख दिनहरूमा महाष्टमी, महानवमी र विजया दशमी पर्दछन्। विशेष गरी दशमीका दिन विजय र शक्तिको प्रतीक स्वरूप दुर्गा देवीको पूजा–आराधना गरिन्छ भने ज्येष्ठहरूको हातबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा रहेको छ ।
प्रतिक्रिया