२०८२, २९ भाद्र आईतबार

एमालेलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेहरूले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरे: महासचिव पाेखरेल

एमालेलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेहरूले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरे: महासचिव पाेखरेल


काठमाडौं, १२ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यका लागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको दाबी गर्नुभएको छ।

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’

एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको उहाँले दाबी गर्नुभयो । यी विषय विगतका शासकले कल्पना पनि नगरेका विषय भएको उहाँको दाबी छ ।

महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपाली युवाहरू केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका उहाँको भनाइ छ । ‘हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्’, उहाँले भन्नुभयो ।

उहाँले यो समस्याको समाधान केवल नारा र भावना होइन, राज्य, राजनीति र समाजसँग नयाँ पुस्तालाई अर्थपूर्ण ढङ्गले जोड्न सकिएको खण्डमा मात्र सम्भव हुने स्पष्ट पार्नुभयो । त्यसैले अहिलेको सरकारको बजेट तथा कार्यक्रममा यो कुरामा ध्यान दिइएको उहाँले बताउनुभयो । ‘सरकारको नीति, कार्यक्रम र बजेटले नयाँ पुस्तालाई नेपालमै अवसर दिने, स्वरोजगार र उत्पादनसँग जोड्ने दिशामा अघि बढेको छ’, उहाँले भन्नुभयो ।

बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँको दाबी छ। ‘यो कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ’, पोखरेलले भन्नुभयो ।

सरकारको नीति तथा कार्यक्रमप्रति उठेका आलोचनाबारे उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो, ‘कतिपय गुनासा स्वाभाविक छन्, तर समग्रमा बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ, यसको प्रभावकारी कार्यान्वयन भयो भने थुप्रै संरचनात्मक समस्याहरू समाधान गर्न सकिन्छ।’

पोखरेलले नेकपा एमालेलाई आधुनिक राष्ट्र निर्माणको पर्यायका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको स्मरण गराउनुभयो। ‘ग्यास र फलाम खानी पत्ता लगाउनेदेखि लिएर राष्ट्रिय गौरवका आयोजनाहरूको जग हामीले राखेका हौँ’, उहाँले भन्नुभयो ‘योजना त केवल खाका हो, हामीले त तिनलाई क्रियान्वयनमा पुर्‍याउने आँट गरेका छौँ।’

उहाँले वर्तमान राजनीतिमा एमालेमाथि हुने प्रहार र आलोचना एमालेको शक्ति र स्थायित्वको कारणले भएको पनि उल्लेख गर्नुभयो। एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेहरूले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उहाँको भनाइ छ । ‘जब एमाले बलियो हुन्छ, अराजकता फैलाउन नसकिने स्थिति आउँछ, त्यही कारण हामीमाथि हमला भइरहेका छन्।’ उहाँले  भन्नुभयो ।

पार्टीभित्रको अनुशासन र कार्यकर्ताहरूको भूमिकाबारे पनि पोखरेलको धारणा आलोचनात्मक धारणा राख्नुभयो । उहाँले भोज भतेर, जन्मदिन र सवारीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने तर पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो नदेखाउने प्रवृत्तिको बढेको बताउनुभयो ।

पार्टीभित्र नेतृत्वबारे भइरहेका चर्चामा पोखरेलले असन्तुष्टि व्यक्त गर्दै अहिले नेतृत्वको बहस गर्ने बेला नभएको बताउनुभयो । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको उहाँले दाबी गर्नुभयो । अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

बैठकमा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, उपसचिव भक्तकुमारी लामा लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२, १२ असार बिहीबार  ६ : ०४ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान