२०८१, १८ मंसिर मंगलबार

नेपालको महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

नेपालको महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा


काठमाडौं: आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन ।

सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भयो । नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे ।

डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने भयो ।

बुधबार भएको यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६.१ ओभरमा पूरा गर्नुपर्ने समीकरण थियो ।

यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले जतिसक्दो कम स्कोरमा रोक्नुपर्ने थियो । बलरहरुको राम्रो प्रदर्शनमा यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लियो ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर घरेलु टोली यूएईले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो । यूएईको त्यो निर्णयलाई नेपालले सुरुवातदेखि नै विकेट लिँदै गलत बनाएको थियो ।

कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।

लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।

नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पार्‍यो ।

आक्रामक सुरुवात गरेकी विकेटकिपर सावित्री धामी तेस्रो ओभरको चौथो बलमा १२ रन बनाएर आउट भइन् । ९ बलको सामना गरेकी उनले एक चौका प्रहार गरेकी थिइन् । त्यसपछि कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।

पूजा १८ बलमा ४ चौका मदतमा २१ रन बनाएर सातौं ओभरको अन्तिम बलमा आउट हुँदा नेपाल ४८–२ को स्थितिमा थियो । त्यहाँबाट साना प्रविन र उपकप्तान सोनी पाख्रिनले इनिङ्स अघि बढाए । यही जोडीले तेस्रो विकेटका लागि अविजित ३८ रनको साझेदारी गर्दै नेपाललाई विश्वकपमा पुर्‍याए ।

सानाले अन्तिमसम्म क्रिजमा रहँदै ४२ बल खेलेर अविजित ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले १ चौका पनि प्रहार गरिन् । सोनीले १९ बल खेलेर अविजित १३ रन योगदान गरिन् ।

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया स्वतः छनोट भएका छन् ।

अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका हुन् । नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो । युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २०८१, २८ कार्तिक बुधबार  ८ : १८ बजे

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौं ।  काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु

काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा शुरु

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव