ललितपुर । दिनानुदिन बढिरहेको सडक दुर्घटनाबाट देश आक्रान्त बनिरहेकोबेला सडकमै काम गर्ने यातायात मजदुरहरु पीडित नहुने कुरै भएन । अझ यातायात मजदुरहरुलाई नै दुर्घटनाको कारक बनाउने र दुर्घटनापछि मजदुरहरु भौतिक रुपमै असुरक्षित हुने अवस्था आएकाले यातायात मजदुरहरु स्वयमले सडक दुर्घटना न्युनिकरण अभियानको थालनी गरेकाछन् ।
आइतबार ललितपुरको केन्द्र लगनखेलमा यातायात मजदुरहरु भेला भएर म जिम्मेवार यातायात मजदुर भन्ने आह्वान गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाइरहँदा मोवाइलफोनको प्रयोग नगर्ने, तिब्र गतिमा सवारीसाधन नचलाउने, राज्यले तोकेको भन्दा बढी भाडा नलिने, आफ्नो सवारीसाधनमा यात्रा गर्ने महिला, बालबालिका, बृद्धबृद्धालाई सम्मान गर्ने, बाल श्रमको प्रयोग नगर्ने, सभ्य भाषा प्रयोग गर्ने र ट्राफिक नियमको पालना गर्ने लगायतका प्रतिबद्धता समेत व्यक्त गरेकाछन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीले लगनखेल बसपार्कमा खुल्ला रुपमा सडक सचेतना सम्बन्धी अनुशिक्षण कार्यक्रममा ललतिपुरका २ सय चालक, सहचालक तथा परिचालकहरुले जिम्मेवार यातायात मजदुरका रुपमा आफुलाई विकास गर्ने प्रतिबद्धता जनाएकाछन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई लगायतका नेतृत्व, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख शालिकराम तिम्सिना लगायतको उपस्थितिमा मजदुरहरुले प्रतिबद्धता जनाएकाहुन् । देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको संगठनका अध्यक्ष भीमज्वाला राईले अवधारणा प्रस्तुत गर्दै तथ्य प्रस्तुत गर्नु भएको थियो ।
हामी सबैजना सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर नहुने हो भने अवस्था झन भयावह हुने बताउदै प्रहरी प्रधान कार्यालयको स्रोत उल्लेख गर्दै चार वर्षमा भएको सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउनेहरु र घाइते हुनेहरुको तथ्य अध्यक्ष राईले प्रस्तुत गर्नुभयो ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाहले नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसंगै सडक दुर्घटनामा बृद्धि भइरहेको बताउनुभयो ।
वहाँले भन्नुभयो ट्राफिक जनशक्ति अपुगछ, सवारीसाधनको चाप अत्यधिकछ र सडक प्रयोगकर्ता र चालकहरुमा ट्राफिक संकेत चिन्ह र ट्राफिक ज्ञानको अभावछ जसको कारण सडक दुर्घटना बढिरहेकोछ । अहिले अधिकांश सडक दुर्घटनाको अध्ययन गर्दा दुइ पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको र दुइ पाङ्ग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइएको बताउनुभयो । डिएसपी शाहको भनाइ थियो सडक दुर्घटना निर्मुल नै त पार्न नसकिएला तर यस्ता सचेतना अभियान निरन्तर चलाउँदै जानेहो भने कम गर्न सकिन्छ । बिना कारण हुने जनधनको क्षतिलाई रोक्न सकिन्छ ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरुको हक, हित र अधिकारको मुद्धा यस संगठनले ४५ वर्षदेखि गर्दै आइरहेको भएपनि यतिबेला सडक दुर्घटना सबैले चासो राख्नु पर्ने भएकाले संगठनले यो अभियान चलाएको बताउनुभयो । संगठनका उपाध्यक्ष विष्णु लामा महासचिव केशव थापा, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिव शिवकुमार श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ लगायतको उपस्थिति थियो । सुग्रिब थिङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विनोद बुढाथोकीले गर्नुभएको थियो ।
साथै ललितपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा चालक तथा सहचालकहरुलाई सडक सुरक्षा अनुशिक्षण गर्ने भएकोछ ।
प्रत्येक १५ दिनमा २५ जना चालक सहचालकहरुलाई ट्राफिक प्रहरी कार्यालय सातदोबाटो प्रशिक्षण हलमा भेला गराउछौं र विज्ञ ट्राफिकबाट प्रोजेक्टर मार्फत प्रशिक्षण दिन लगाउँछौ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका ललितपुर अध्यक्ष विनोद बुढाथोकीले भन्नुभयो । संगठनको सहकार्यमा प्रशिक्षित हुने चालक सहचालकहरुको विवरणलाई व्यवस्थित गर्दै सडक अनुशासन पालनामा शीपयुक्त चालकहरु उत्पादन गरिने ट्राफिक प्रहरी कार्यालय ललितपुरका इन्चार्ज तथा प्रहरी निरिक्षक शालिकराम तिम्सिनाले बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले लगनखेलमा आयोजना गरेको सडक सुरक्षा सचेतना कार्यक्रममा अबदेखि प्रत्येक १५ दिनमा २५ जना यातायात मजदुरहरुलाई प्रशिक्षण प्रदान गरिने विषय ट्राफिक प्रहरी र संगठनले संयुक्त रुपमा घोषणा गरेको हो ।
प्रतिक्रिया