२०८२, २७ चैत्र शनिबार

संयम अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

संयम अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गर्नुभएको छ । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उहाँले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गर्नुभएको हो ।

आज सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने गतिवधिमाथि मलजल गर्न मिथ्या सूचना उपयोग भइरहेको तर्फ समेत ध्यानाकर्षण गराउनु भएको छ ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई देशको सौन्दर्य र सम्पदाका रुपमा आत्मसाथ गर्दै आएको भन्दै उहाँ भन्नुहुन्छ, ‘कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको छ ।’

हेर्नुहोस् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सार्वजनिक सन्देश-

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिनेतथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात गर्दै आएका छौं । यही विविधता बिचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति हो । हाम्रो संविधानले पनि “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ । यसरी संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै छ । सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएका छन् ।

हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन । इतिहासको अवशेषका रूपमासमाजमा अझसम्म कायम रहेका कतिपयकुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तरक्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाईमा पुर्‍याउनु पर्दछ । एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउनु पर्दछ । जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिन्छ । हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताहरूले यही शिक्षा दिंदै आएका छन् । आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात गर्नसक्नुपरेको छ ।

हाम्रा सामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौतीहरू अवश्य छन्, तर हामी भित्रको संकल्प बलियो छ । कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको छ । हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढराष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपील गर्दछु । धन्यवाद ।

प्रकाशित मिति : २०८०, १९ आश्विन शुक्रबार  २ : १६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण