सिन्धुपाल्चोक ५ असार : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।
भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिएका छन् । ‘शुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो । शुक्रबार रातिको बाढीले भवन पनि ढल्यो,’ अधिकारीले भने । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने । त्यसैगरी शुक्रबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीय तथा एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले जानकारी दिएका छन् । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भवनमा प्रहरी कर्मचारी चाहिँ बसेका थिएनन् । ‘नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेका थियौं,’ प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लामाले भने, ‘त्यसैले कर्मचारी चाहिँ सबै सुरक्षित छन् ।’
हेलम्बुमा प्रहरीको चौकी पाँच महिनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । ‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।
प्रतिक्रिया