२०८३, २३ जेष्ठ आईतबार

अध्यक्ष दाहाल–नेपालप्रति आक्रामक प्रधानमन्त्री ओली

अध्यक्ष दाहाल–नेपालप्रति आक्रामक प्रधानमन्त्री ओली


काठमाडौं, २० पुस :  प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गते  यता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन्। ओली दाहाल–नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहँदा सो समूहले पनि सरकारविरुद्ध एकमहिने आन्दोलन घोषणा गरेको छ।

दाहाल–नेपाल समूहले ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएपछि जवाफ दिने क्रममा उनले आक्रामक अभिव्यक्ति दिन थालेका हुन्। दाहाल–नेपाल समूहले ओलीलाई व्यवस्थाविरोधी भन्दै प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनतर्फ फर्कनु हो भन्दै आएको छ।

यस आरोपको खण्डन गर्र्ने क्रममा आइतबार आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहालले कार्यकारी अधिकार पाएपछि पार्टीमा उपद्रो मच्चाएको टिप्पणी गरे। ‘मैले के कार्यकारी पद र अधिकार दिएको थिएँ, अत्यन्त उपद्रो मच्याउनुभयो। अहिलेलाई हटाएको छु तर अध्यक्ष भने कायमै राखेको छु। म उहाँलाई भन्न चाहन्छु अहिले पनि आउनुस्,’ ओलीले भने। उनले वरिष्ठ नेताहरूको पनि पद कायमै रहेको बताए ।प्रधानमन्त्री ओलीले शनिबार मात्रै काठमाडौं जिल्लाका कार्यकर्तासँग दाहाल–नेपाललाई भेट्नो कुहिएर झरेका दुई फल, खिया लागेका नटबोल्टु जस्ता शब्दले सम्बोधन गरेका थिए।

आइतबार ओलीले दाहाल–नेपाललाई लक्षित गर्दै सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो सम्म भन्न भ्याए। उनले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि समेत व्यंग्य गरे। ‘श्रेष्ठलाई पार्टी प्रवक्ता तोकेको थिएँ, साह्रै बढी दुर्गन्ध फैलाउने काम गरे। त्यसकारण प्रवक्ताबाट हटाएको छु, सचिवालयमा भने यथावत् नै राखिएको छ,’ उनले भने। ओलीले सूर्य चिह्नआफ्नै समूहको हुने दाबीसमेत गरे। ‘चिन्ता नलिनुहोस्, सूर्य चिह्न हामीले नपाए कसले पाउँछ त रु सूर्य चिह्नअरूको हुँदैन,’ उनले भने।

ओलीले दाहाल–नेपालप्रति लक्षित गर्दै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म षड्यन्त्रका बैठक गरेको आरोप लगाए। ‘मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको अर्याल होटलमा उहाँहरूले ३ सय १५ वटा बैठक गर्नुभएछ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव हुने कुरामा विश्वस्त पार्न खोज्दै कोहीकसैलाई भ्रममा नपर्न आग्रहसमेत गरे। उनले दाहाल–नेपाललाई पार्टीको बैठकमा आउन आग्रह गर्दै अपराधलाई माफी दिनेसमेत बताए। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७, २० पुस सोमबार  ८ : ४७ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति