२०८२, ८ माघ बिहीबार

चैतदेखि असोजसम्म यौनजन्य हिंसाका सबैभन्दा बढी पीडित दलित महिला र बालिका

चैतदेखि असोजसम्म यौनजन्य हिंसाका सबैभन्दा बढी पीडित दलित महिला र बालिका

सात महिना मा एक हजार दुई सय ७६ वटा यौनजन्य हिंसा


काठमाडौं २९ मंसिर  : यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न कानुन छ । र, त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारी संयन्त्र जुटेको पनि छ । तर, कोरोना प्रसार रोक्न जारी लकडाउनयता महिला हिंसाको दर झनै बढेको छ । दलित महिला संघ (फेडो)ले हालै सार्वजनिक गरेको प्रतिवेदन भन्छ– बलात्कार र यौनजन्य हिंसाका घटनामा पीडितमध्ये दलित महिला मात्रै ३५ दशमलव ५७ प्रतिशत छन् ।

सात महिना (चैत–असोज)मा एक हजार दुई सय ७६ वटा यौनजन्य हिंसा भएका छन् । तीमध्ये चार सय ५४ घटनामा दलित महिला र बालिका पीडित भएका छन् । त्यसरी हिंसामा पर्नेमा बालिका मात्रै एक सय ३४ जना छन् ।

आफूमाथि भएको अन्यायविरुद्ध उजुरी गर्ने क्रम बढे पनि दलित महिलाले न्याय पाउँदैनन् । उजुरी परिहाले पनि शून्य दशमलव एक प्रतिशतले मात्रै न्याय पाएको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्रहरीको तथ्यांकअनुसार मुलुकमा हाल दैनिक औसत सात महिलामाथि यौनजन्य हिंसा हुन्छ । त्यसमध्ये हरेक तीनवटा घटनामा दलित समुदायका महिला र बालिका पीडित हुने गरेको फेडोको प्रतिवेदनमा उल्लेख छ ।

सातै प्रदेशका ६१ जिल्लाको तथ्यांक विश्लेषण गर्दै सार्वजनिक भएको प्रतिवेदनले दलित महिला र बालिकाहरूमाथि भइरहेको क्रूर हिंसाको तस्बिर सामुन्ने ल्याएको छ । ‘प्रहरी, मानव अधिकार आयोग, महिला आयोग, इन्सेक, पत्रपत्रिका र संघसंस्थाका प्रतिवेदन विश्लेषण गर्दा कोरोना महामारीका वेलासमेत दलितमाथि हुने जातीय हिंसा, हत्या, बलात्कार र अत्याचारको शृंखला रोकिएको छैन,’ प्रतिवेदनमा उल्लेख छ ।

०७६ चैतदेखि ०७७ असोज मसान्तसम्मका घटनालाई प्रतिवेदनमा आधार बनाइएको छ । त्यस अवधिमा दलितमाथि हुने कुटपिट, गाली बेइज्जती, बलात्कार, हत्या र अवसरबाट वञ्चित गर्नेजस्ता अन्याय र अत्याचारका घटना दोब्बर वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

एक हजार तीन सय १८ वटा बलात्कारजन्य मुद्दामध्ये चार सय ५४ घटनामा दलित समुदायका महिला र बालबालिका पीडित छन् । ६ दलित बालिका र एक दलित महिलाको बलात्कारपछि हत्या भएको छ । चार महिलामाथि बोक्सी आरोपमा कुटपिट गरिएको छ ।

यस्तै, चैतमा बलात्कारका एक सय ३४ घटनामध्ये ८१ वटामा दलित महिला पीडित थिए । वैशाखमा एक सय ५२ घटनामध्ये ४९, जेठमा एक सय ९६ मध्ये ३६, असारमा दुई सय ४० मध्ये ५१, साउनमा दुई सय ६६ मध्ये ४४, भदौमा एक सय ९७ मध्ये ३१ र असोजका ९१ घटनामध्ये १३ जना पीडित दलित महिला छन् ।

बलात्कारजन्य हिंसामा २० वर्षभन्दा कम उमेरका किशोरी र बालिका सबैभन्दा बढी पीडित छन् । प्रहरीको महिला बालबालिका निर्देशनालयकी एसएसपी दुर्गा सिंह भन्छिन्, ‘घरेलु हिंसाजन्य अपराधसँगै बलात्कारमध्ये ८० प्रतिशतभन्दा धेरै दलित महिला र बालिका छन् ।’ औसतमा दैनिक सातजनामाथि यौनहिंसा हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।

त्यसमध्ये तुलनात्मक रूपमा दलित महिला र बालिकाको संख्या ठूलो छ । बलात्कार र बलात्कार प्रयाससम्बन्धी घटनामा ८३ प्रतिशतभन्दा धेरै पीडक नजिकका छिमेकी, नातेदार र चिनजानका व्यक्ति हुने गरेका छन् । फेडोको प्रतिवेदन भन्छ, ‘सोहीकारण कतिपय घटना प्रहरीमा पुग्दैनन्, गुपचुप पारिन्छ ।’

दलित समुदायका पीडितमध्ये सबैभन्दा बढी बलात्कार, बलात्कार प्रयास र हिंसाजन्य कुसंस्कार प्रदेश–२ मा देखिएको छ, जहाँ यस अवधिमा एक सय ९६ घटना भएका छन् । जब कि, देशभरको संख्या चार सय ४७ मात्रै छ । तर, प्रदेश–२ मा प्रहरीको अभिलेखमा त्यस्ता घटनाको संख्या ४९ मात्रै छ । तीमध्ये ३७ वटामा मात्रै पीडकलाई कारबाही र कानुनी उपचार खोजिएको प्रतिवेदनमा उल्लेख छ । १२ वटा घटना त प्रहरीकै रोहबरमा मिलापत्रमा टुंग्याइएको छ ।

‘दलित महिला सधैँ जोखिममा छन्, बसोवास पनि जोखिमपूर्ण ठाउँमा छ । त्यसले गर्दा पनि उनीहरूमाथि धेरै हिंसा भएको छ,’ दलित महिला संघकी अध्यक्ष कला स्वर्णकार भन्छिन्् ।

समाजमा अझै पनि दलित महिलालाई जे गरे पनि हुन्छ भन्ने चिन्तन हाबी रहेको उनी बताउँछिन् । ‘पितृसत्ता र जातीय विभेद दुवै हिसाबले दलित महिला मारमा छन् । आममहिला र दलित महिलाको अवस्था फरक छ,’ उनी भन्छिन्, ‘हिंसामा पीडित भएपछि दलित महिलाले उजुरी गरे पनि न्याय पाउने अवस्था देखिएको छैन ।’

प्रदेश–१ मा चैतदेखि असोजसम्म दलित महिला र बालिकामाथि यौनजन्य हिंसा, बलात्कार र बलात्कार प्रयासका ५७ घटना भएका छन् । तर, प्रहरीको तथ्यांकमा यो संख्या ३६ मात्रै छ । तीमध्ये ६ वटा घटनामा मात्रै कानुनी उपचार खोजिएको छ, अरू मिलापत्रमा टुंग्याइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित बागमती प्रदेशमा एक सय १२ वटा घटना भएकामध्ये ५२ वटामा मात्रै कानुनी उपचार खोजिएको छ । गण्डकी प्रदेशमा ८९ वटा घटना भए । तर, प्रहरी अभिलेखमा २६ वटा मात्रै छन् । तीमध्ये १७ वटा त बलात्कारकै घटना थिए । लुम्बिनी प्रदेशमा एक सय नौवटा घटना भए । तर, प्रहरीमा ३४ वटा मात्रै उजुरी परे । १२ वटामा मात्रै कानुनी उपचार खोजिएको छ, अन्यमा मिलापत्र गराइएको छ ।

कर्णाली प्रदेशमा ६२ वटा घटना भएका छन्, तर प्रहरीमा १९ वटा मात्र उजुरी परे । सुदूरपश्चिम प्रदेशमा ४९ वटा घटना भएका छन् । यो अवधिमा दलित महिला मात्रै होइन, पूरै दलित समुदाय आतंकित छ । फेडोका तर्फबाट पत्रकार अशोक दर्नालले प्रस्तुत गरेको प्रतिवेदन भन्छ, ‘लकडाउनको सात महिनामा पहिलेभन्दा दोब्बर बढी जातीय भेदभाव, छुवाछुत र बलात्कारजस्ता जघन्य प्रकृतिका घटना भएका छन् ।’

कोरोना संक्रमण सुरु भएयता रुकुम, रुपन्देही, बझाङ, धनुषा, सप्तरी, मोरङ र रौतहटमा गरी ३२ जना दलितको हत्या भएको छ । यो अवधिमा दलितमाथि भौतिक आक्रमणका ७२ वटा घटना भएका छन् । त्यसमा नौ दलित महिला र सात बालिकासमेत पीडित भएका छन् ।

अन्तरजातीय विवाह भएका जोडीलाई परिवारबाट खोस्ने, धम्क्याउने, गाउँबाट विस्थापित गराउने, अपहरण र बलात्कारजस्ता अभियोगमा फसाउनेलगायत घटनाहरू बढेको पाइन्छ । यो अवधिमा सातवटा उमेर नपुगेको, तीनवटा परिवारबाट खोसिएको, ६ वटा गाउँबाट सहर पसेको र दुईवटा विवाहपछि आत्महत्यासमेत गरी अन्तरजातीय विवाहका कारण १९ वटा घटना भएका छन् ।

गाउँघर र टोलछिमेकमा गाली बेइज्जती गर्ने, सार्वजनिक स्थलमा अपमानित गर्ने, होच्याउने र धम्की दिनेजस्ता घटनाको संख्या एक सय ६२ छ । ‘जहाँ दलित समुदाय छ, त्यहाँ गरिबी, अशिक्षा र बेरोजगारी पनि धेरै छ,’ दलित अधिकारकर्मी गणेश विके भन्छन्, ‘दलित समुदायले त्यसै पनि आफू हेपिएको महसुस गर्छ । तर, त्यसविरुद्ध उजुरी गर्ने हिम्मत गर्दैन भन्ने चिन्तनका कारण उनीहरूमाथि निरन्तर विभेद भइरहेको छ ।’

दलितले हिंसा र विभेदविरुद्ध उजुरी दिए पनि धाकधम्की र दबाब दिने तथा पैसामा मिलापत्र गराउने घटना धेरै रहेको विके बताउँछन् ।

प्रहरीका अनुसार पछिल्ला चार वर्षमा महिला हिंसासम्बन्धी ४४ हजार उजुरी दर्ता भएका छन् । तीमध्ये बोक्सी आरोपका एक सय २८, छुवाछुतका ९१, बलात्कार प्रयासका दुई हजार दुई सय, बहुविवाहका दुई हजार चार सय ३७, बालविवाहका दुई सय नौ, गैरकानुनी गर्भपतनका ७४ र घरेलु हिंसाका ३८ हजार सात सय ३७ वटा उजुरी दर्ता भएका छन् । नयाँपत्रिका दैनिक

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  १० : ०९ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष