काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत ले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई केवल इतिहास सम्झने दिनका रूपमा नभई वर्तमान चुनौतीसँग जुध्ने दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै बस्नेतले अध्यक्ष केपी शर्मा ओली को तस्बिर सार्वजनिक गर्दै वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा व्यक्त गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि समाजमा असमानता, बेरोजगारी, महँगी र निराशा अझ बढेको दाबी गरेका छन्।
बस्नेतले श्रमिक र विद्यार्थी संगठनहरूलाई कमजोर बनाउने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको टिप्पणी गरेका छन्। उनका अनुसार लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कुनै पनि कदम जनताका अधिकारमाथिको हस्तक्षेप हो।
उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित पार्टी अध्यक्ष ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। सरकारको यस्तो रवैयाले देशलाई फासिवादतर्फ धकेल्ने खतरा रहेको भन्दै यसको प्रतिकारका लागि सबै लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुनुपर्ने आह्वान गरेका छन्।
बस्नेतले आफ्नो सन्देशमा लेखेका छन्, “आज आवश्यकता छ-नारा होइन, व्यवहारमा रूपान्तरणको; सत्ता केन्द्रित राजनीति होइन, जनविश्वासको पुनर्निर्माणको; विभाजन होइन, एकताको।”
उनले समानता, सामाजिक न्याय र श्रमिक अधिकारको पक्षमा अझ सशक्त, जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको उल्लेख गरेका छन्। साथै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।








प्रतिक्रिया