धुलिखेल, ५ कात्तिकः काभ्रेको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले बढ्दो कोरोना भाइरसको संक्रमण रोक्न भन्दै यो पटकको दसैँमा पहुना नजान र नबोलाउन आग्रह गरेको छ । चाडपर्वमा मानिसहरुको आवात जावातसँगै कोरोना भाइरसको संक्रमण समेत बढ्न सक्ने भएकाले नगरबारीलाई यस्तो आग्रह गरिएको मेयर टोक बहादुर वाइबाले बताउनुभयो ।
नगरपालिकाले यो पटकको दसैँमा भिडभाड नगरी आ आफ्नै घरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ । नगरपालिकाले गरेको आग्रह अटेर गरे प्रचलित कानुनी कारबाही गर्ने समेत चेतावनी दिइएको छ । होटल, रेष्टरेण्ड, पसल खोलेर मान्छे जम्मा हुने र भिडभाड गर्ने कुनै पनि काम सह्य नहुने नगरपालिकाले जनाएको छ ।
बुधबार मण्डनदेउपुर नगरपालिकामा मात्रै ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पटक कोरोना भाइरसबाट आफु, आफन्त र समाज जोगियो भने अर्को साल रमाइलोसँग दसैँ मनाउला, मेयर वाइबाले भने ‘यो नगरपालिकाको खुशीले गरेको होइन, नागरिकको स्वास्थ्य जोखिममा नपरोस् भने गरिएको बाध्यत्मक परिस्थिति हो, सबैले आ आफ्नो ठाउँबाट सचेत भएर काम गरौँ ।’
मण्डनदेउपुर नगरपालिका भारत सहित बढी कोरोना संक्रमित जिल्लाबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने काभ्रेकै पहिलो नगरपालिका समेत हो । नगरपालिकाले नयाँ मान्छेलाई आफ्नो ठाउँमा नबोलाउन र आफु पनि नजान भनेको छ । नगरपालिकाले सार्वजिक तथा निजी ठाउँमा मानिसको भिड हुने गरी कुनै पनि प्रकारको भेला, मेला, पर्व र उत्सव नगर्न र त्यस्तो ठाउँमा नजान आग्रह गरेको छ ।








प्रतिक्रिया