धुलिखेल, १५ भदौँः काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले पालिकाकाभित्रको बस्ती बस्ती पुगेर नागरिकको सुःख, दुःख बुझ्नु भएको छ । झण्डै चुनाबी झल्को दिने गरी पालिका अध्यक्ष जिम्बा बस्ती बस्तीमा पुग्नुभएको हो ।
स्वास्थ्य संयोजक हरि सिं विष्ट र प्रशासन प्रमुख रेवतीरमण निरौलालाई साथैमा लिएर अध्यक्ष जिम्बाले मुख्य मुख्य पाँचवटा क्षेत्रको अवस्था बुझ्न पुग्नुभएको हो । अघिल्लो सोमबार बन्खुबाट यात्रा सुरु गर्नुभएका अध्यक्ष जिम्बाले कोरोना भाइरसपछि स्थानीयले ब्यहारिरहेको समस्यालाई नजिकबाट नियालेको बताउनुभयो । ‘मेरो पालिकामा बर्खा लागेपछि यातायातको सम्पर्क लगभग टुटछ, यस्तो बेला गाउँका कोहि कसैलाई कोरोना संक्रमण भइहाल्यो भने सहरको आइसोलेसनमा लैजान निकै समस्या पर्छ, त्यसैले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि गाउँ गाउँ पुगेर सचेतना र स्थानीयहरुको भोगाई बुझेँको हुँ ।’
पालिका अध्यक्ष जिम्बाले एक साता लगाएर गोकुले, घर्तिछाप, बुढाखानी र फोक्सिनटारका स्थानीय बासिन्दासँग पनि भेटघाट गरेको गर्नुभएको हो । स्वास्थ्य चौकीहरुले पुर्याइरहेको सेवा, कोरोना भाइरसका बारे स्थानीयको बुझाई, होम क्वारेन्टाइन र होम आइसोलेसन बनाउने विषयमा स्थानीयसँग प्रत्यक्ष छलफल गरेको अध्यक्ष जिम्बा बताउनुभयो । अध्यक्ष पुगेको सबै ठाउँमा वडास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ । त्यस्तै टोल र बस्ती समेट्ने गरी गाउँ स्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उपसमिति पनि पठन गरिएको छ ।
उपसमितिले गाउँ वा टोलमा नयाँ मान्छे भित्रिने बित्तिकै वडास्तरीय समितिलाई जानकारी गराउने नियम बनाइएको छ । ‘विदेशबाट आउने मात्रै होइनन्, कोरोना बढी प्रभावित क्षेत्रबाट आउनेलाई समेत होम क्वारेन्टाइन र होम आइसोलेसनमा कसरी राख्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुसँग पनि कुराकानी भएको छ, गाउँमा कोहि अपरिचित मान्छे आउने वित्तिकै उपसमितिले वडा समितिलाई खबर गर्छ, त्यहि समितिले कहाँ र कसरी राख्ने भन्ने कुराको निक्र्यौल गर्छ ।’
गाउँपालिकामा विभिन्न ठाउँमा ४६ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । यी क्वारेन्टाइनमा हालसम्म ९ जना मात्रै बसेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । महाभारत गाउँपालिका स्थायी ठेगाना भएका विदेशबाट आएकालाई धुलिखेल स्थित सञ्जिवनी क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाइएको छ । गाउँमा सकेसम्म कोहि कसैलाई पनि कोरोना संक्रमण नहोस भनेर सचेत गराइरहेको पालिका अध्यक्ष जिम्बाले बताउनुभयो ।








प्रतिक्रिया