धुलिखेल, १४ भदौः २०६५ साल कात्तिक २२ गतेदेखि काभ्रेको भैसेपाटीमा मेरुदण्डको चोट लागेका बिरामीलाई उपचार गर्न स्थापना भएको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र अहिले जिल्लामा कोरोना भाइरसको स्रोत केन्द्र जस्तै बनेको छ । जिल्लामा हालसम्म २५८ जनामा कोरोना भाइरसको संक्रमण देखिदाँ यो केन्द्रमा मात्रै १०४ जनामा संक्रमण देखिएको छ । यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।
स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले सबैको स्वाब परीक्षणका लागि संकलन गरिसकेको छ । दुई सयको हाराहारीमा स्वाब संकलन गरेको बताइएको छ । संक्रमित हुनेमा गार्ड देखि बिरामी, बिरामीको कुरुवा र स्वास्थ्यकर्मी समेत छन् । यो स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र अन्य अस्पताल जस्तो होइन । यहाँ सामान्य स्वास्थ्य चेकजाँच गर्न कोहि पनि पुग्दैन् । यहाँ विभिन्न दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेका बिरामीलाई राखिन्छ । ती बिरामीलाई विभिन्न सिप मार्फत आत्मनिर्भर बनाउने काम पनि केन्द्रले गर्दै आएको छ ।
न अन्य अस्पतालको जस्तो सेवा । न त बाहिरी मान्छेको घुलमिल । उसो त कोरोना संक्रमित राख्ने र उपचार गर्ने छुट्टै अस्पताल पनि होइन यो । तर एकाएक कसरी उच्च जोखिममा पर्र्यो त स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र ? यसको भित्र अध्ययन पुर्नस्थापना केन्द्र प्रशासनलाई दिउँ । केन्द्रका प्रशासन प्रमुख हरिप्रसाद अधिकारीले सुक्ष्म अध्ययन भइरहेको बताउनुभयो ।
नियन्त्रण नै गर्न नसक्ने गरी कोरोना संक्रमण फैलिएपछि प्रशासनले अध्ययन थाल्नु उसको कर्तब्य हो । साथसाथै सुरक्षाका पर्याप्त उपाय अपनाउन पनि पुर्नस्थापना केन्द्र प्रशासन जति लागेको छ अझै बढाउन आवश्यक छ । किन भने यो केन्द्रमा शारिरीक रुपमा कमजोर मानिसहरु नै बस्छन् । कोरोना भाइरसको विश्वब्यापी अवस्था हेर्ने हो भने कमजोर स्वास्थ्य अवस्था भएकालाई सबैभन्दा छिटो संक्रमण फैलाउने र थला पारेको देखिन्छ ।
माथि उल्लेख गरिएजस्तै बाहिरी मान्छेसँग घुलमिल नहुने यो पुर्नस्थापना केन्द्रमा सबैभन्दा पहिले सुरक्षाका लागि खटिएका गार्ड र डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना गार्डमा कोरोना संक्रमण पुष्टि भएसँगै यो केन्द्रमा बाहिरबाट कोरोना संक्रमण पुगेको प्रारम्भिक आशंका गरिएको छ । ती गार्डहरु आफ्नो घर र केन्द्र आउजाउ गर्ने गर्थे ।
त्यसपछि पुर्नस्थापना केन्द्रको भान्सामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पाइन्छ । लगत्तै बिरामी र बिरामीको आफन्तमा कोरोना संक्रमण देखिन थाल्यो । पुर्नस्थापना केन्द्रले आफ्नै लगानीमा समेत स्वाब परीक्षण गरेको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि भने स्वास्थ्य कार्यालय काभ्रेले स्वाब संकलन गरी धमाधम परीक्षण गराइरहेको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार पुर्नस्थापना केन्द्रका संक्रमितलाई अन्य ठाउँको आइसोलेसनमा लैजान समेत निकै समस्या छ । त्यसका लागि प्रदेश सरकारले पुर्नस्थापना केन्द्रलाई आइसोलेसनको मान्यता दिन पत्र पठाइसकेको डाक्टर झाले बताउनुभयो । ‘त्यहाँ ह्वीलचियरलाई साहारा बनाएर हिड्डुल गर्ने पनि संक्रमित हुनुभएको छ, डाक्टर झाले भन्नुभयो ‘उहाँहरुलाई अन्य ठाउँको आइसोलेसनमा लैजान पनि समस्या छ, त्यसैले त्यहि पुर्नस्थापना केन्द्रलाई नै आइसोलेसनको मान्यता दिन पत्र पठाइसकेको छौँ ।’








प्रतिक्रिया