धुलिखेल, ३० साउनः कोरोना संक्रमित भेटिएसँगै जिल्लाको दुई वटा स्थानीय तहले आफ्नो क्षेत्रलाई शिल गरेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा बन्देज लगाएका छन् ।
यी दुई स्थानीय तहले छुट्टा छुट्टै सूचना जारी गर्दै अवस्था सामान्य नबन्दासम्म बाहिरी मान्छेको आवातजावात रोकेका छन् । त्यस्तै सवारी साधान र पसल, होटल ब्यवसाय खोल्न पाइनेछैन् । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले कुनै पनि किसिमको भिडभाड नगर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।
नगरपालिकाले सिपाघाट इन्द्रावती पुल, सिमाघाट मेलम्ची सडक, जिरोकिला, नगरकोट टावर, भट्टेडाँडा, कौशीभञ्ज्याङ, कात्तिके, दोलालघाट लगायतका नगरपालिकाभित्र प्रवेश गर्ने सबै नाका बन्द गरेको छ । त्यस्तै पालिकाले सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा रोक लगाएको भने मानिसहरुको आवातजावातमा समेत रोक लगाइएको नगरप्रमुख वाइबाले बताउनुभयो ।
भुम्लु गाउँपालिकाले पनि औषधि जस्ता अत्यावश्यक बाहेक अन्य सबै सेवा भोलीदेखि बन्द गर्ने निर्णय गरेको छ । सबै वडा कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा पनि बन्द हुनेछन् । गाउँपालिकाले आफ्नो घरबाट बाहिर ननिस्कन, अनावश्यक भेला हुने, जमघट गर्ने जस्ता कार्य नगर्न भनेको छ ।








प्रतिक्रिया