धुलिखेल, ३ असारः धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु नगरबासीको सुःख, दुःख बुझ्न वडामै पुग्नुभएको छ । उहाँले चालु आर्थिक वर्षको सुरुवात नागरिकको गुनासो सुन्नबाट थाल्नुभएको छ ।
नीति तथा कार्यक्रममै ‘नगरबासीसँग मेयर’ राखेर मेयर ब्याञ्जुले वडा वडामा नागरिकसँग भेटघाट, छलफल तथा अन्र्तक्रियाको सुरुवात गर्नुभएको हो । आज वडा नम्बर १० बाट सुरु भएको भेटघाट कार्यक्रम १२ वटै वडामा हुनेछ । दुई महिनाभित्र सबै वडामा पुगेर नागरिकहरुको गुनासो सुन्ने मेयर ब्याञ्जुले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ वर्षको नीति, कार्यक्रम तथा बजेट समयमै ल्याएको नगरपालिकाले घर दैलोमै पुगेर नागरिकको गुनासो सुन्न थालेको हो । कोरोना संक्रमणका कारण सार्वजनिक सुनुवाई, सार्वजनिक लेखा परीक्षण जस्ता कार्यक्रमहरु हुन नसकिरहेको बेला मेयर आफै नगरबासीलाई भेट्न वडा वडा पुगेका हुन् । मेयर ब्याञ्जुले वडागत रुपमा नागरिकले भोगिरहेको समस्या टिपोट गर्ने गरेका छन् । त्यस्तै सम्भाब्यताको क्षेत्र औल्याउने र आगामी दिनमा गर्न सक्ने कामका बारेपनि छलफल हुने गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा सकिएका योजनाहरुको समीक्षा, चालु आर्थिक वर्षमा वडामा सञ्चालन हुने कार्यक्रमहरुको जानकारी र नगरपालिकाले गरेको कामका बारे नागरिकको सल्लाह, सुझाव तथा प्रक्रिया लिने मेयर ब्याञ्जुले बताउनुभयाे । ‘बढीमा दुई महिनाभित्र सबै वडाका नागरिकहरुको सल्लाह, सुझाव र प्रक्रिया लिइसकेपछि नगरस्तरीय समीक्षा गर्ने योजना बनाएका छौँ, मेयर ब्याञ्जुले भन्नुभयाे ‘नागरिक तहबाट आएका सुझावलाई नगरपालिकाको कार्य योजना भित्र समावेश गरेर अघि बढ्न सजिलो हुनेछ ।’
धुलिखेल नगरपालिकाले आफुलाई अब्बल बनाउन अघि सारेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार जस्ता नीति तथा कार्यक्रममा आम जनसहभागिता जुटाउन र नगरपालिकाप्रति अपनत्व कायम गर्न सजिलो हुने मेयर ब्याञ्जुले बताउनुभयाे । ‘निर्वाचित भएपछि मतदाता भेट्नै नजाने धेरै जनप्रतिनिधिको परिपाटी छ, त्यसले जनप्रतिनिधि र जनताबीच अविश्वास फैदा गराउँछ, उहाँले भन्नुभयो ‘त्यस कारण प्रजातान्त्रिक ढंगबाट जनमुखिको विकासको अवधारणलाई सार्थक बनाउन जनतासँग भेटघाट, जनताको आवाज सुन्ने, सम्बोधन गर्ने काम जनप्रतिनिधिले गर्नुपर्छ, त्यहि कार्यक्रम अन्तर्गत म आफै वडा वडामा पुगेर गुनासो सुन्ने कामलाई निरन्तरता दिइरहेको छु, गुनासो सुन्ने मात्रै होइन सम्बोधन पनि हुन्छ ।’








प्रतिक्रिया