धुलिखेल, ३ असारः सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ लामोसाँघुले सुरु गरेको सुत्केरी भेटघाट कार्यक्रम निकै प्रभावकारी बनेको छ । वडाले ‘सुत्केरी भेटघाट तथा सचेतना कार्यक्रम’ नै बनाएको छ ।
सुत्केरी भएको एक हप्ता भित्र जनप्रतिनिधि र स्वास्थ्य कर्मी सुत्केरीको घरमै पुग्छन् । कुखुराको भाले च्यापेर । ‘यो पटक चाँहि अलिक ढिला भयो लकडाउनले गर्दा वडाध्यक्ष चरिबहादुर तामाङले भने ‘हामीले बार्षिक कार्यक्रम नै बनाएर सुत्केरी भेटघाट गरिरहेका छौँ, एक हप्ता भित्र हामी सुत्केरी महिलाको घरमा पुग्छौँ ।’
सुत्केरी भेटघाट गर्न पुगेका जनप्रतिनिधि परिवारका सदस्यसँग आर्थिक पारिवारिक र सामाजिक कुरा गर्छन् । अनि स्वास्थ्य कर्मी चाँहि सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्छन् । खानपानको अवस्था बुझेर आवश्यक सरसल्लाह दिन्छन् । वडा कार्यालयले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्ने र वडामै बसोबास गर्ने सुत्केरी महिलाहरुलाई घर-घरमै कोसेली पुर्याउने गरेको छ ।
कोसेली स्वरुप एउटा कुखुराको भाले, एक किलो चना, एक पाकेट आयोडिन नुन, नवजात शिशुका लागि नुहाउने साबुन सहितको ‘बेवि सेट’ सुत्केरी महिलाको घरमै पुर्याउने गरिएको हो । ‘घरमै पुग्दा महिला र बच्चाको स्वास्थ्य अवस्था समेत बुझ्न सजिलो हुन्छ, महिला सदस्य मन्दिरा कायस्थले भनिन ‘स्वास्थ्य कर्मीले सुत्केरी महिलाका लागि घरपरिवारले गर्नुपर्ने कुरा समेत किसाउन गरेका छन्, जसले सुत्केरी महिलाका लागि घरपरिवारको हेरचाहको महत्वपनि बुझाउन सजिलो भएको छ ।’
चालु आर्थिक वर्षको यो अवधिमा मात्रै २५ जनाको हाराहारीमा वडाभित्रका सुत्केरी महिलालाई कोसेली उपब्ध गराएको वडाध्यक्ष तामाङले बताए । अरु स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएका र वडाभित्रै बसोबास गर्ने सुत्केरी महिलाहरुले वडाको कोसेली पाइरहेका छन् । काठमाण्डौ बस्नेका लागि भने कोसेली उपब्ध गराउन गाह्रो भइरहेको वडाध्यक्ष तामाङले बताए ।








प्रतिक्रिया