काठमाडौं, ६ भदौ । श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मवालम्बीहरूका लागि महत्वपूर्ण दिन हो । यो विशेष दिनलाई महत्व दिएर प्रदेश १ र २ मा सार्वजनिक विदा समेत दिएको छ ।
कृष्णाष्टमीका दिनमा ललितपुरको कृष्ण मन्दिरमा विशेष कार्यक्रम हुने गरेको छ । त्यसैगरी विराटनगरमा कृष्ण रथको पनि विशेष महत्व रहेको छ । धार्मिक र ग्रन्थका मान्यताअनुसार गोठालो कृष्णको जन्म दानव मानिने राजा कंशकी बहिनी देवकी र बासुदेवबाट आठौं सन्तानका रूपमा भएको थियो । भगवान श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतार पनि मान्ने गरिएको छ ।
ग्रन्थहरूका अनुसार कृष्णको गोपिकाहरूसँगको प्रेम र सोह्र हजार गोपीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।
गोपी र राधासँगको प्रेम निश्चय पनि एक विशेष घटना हो । कुनै प्रेमी र प्रेमिकाको प्रेम त्यस उच्च कोटिमा पुगेका छन् भने उनीहरुले कृष्ण र गोपिकाहरूको चर्चा गर्नेगर्दछन् ।
तस्वीरहरुमा वालक मात्रै देखिने श्रीकृष्ण एक पूर्ण पुरुष नै थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, सँगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरूको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक समेत श्रीकृष्ण थिए ।
त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिनीहरू धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरू पनि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमा प्रकट गरिएको छ ।
राधाको चरित्र भागवतमा पाइँदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासँग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिकाका लागि बजाएको बाँसुली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिएका छन् ।
बज्र छोडेपछि कृष्ण फेरि कुनै गोपिकासँग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । भगवान श्रीकृष्णको प्रेम वासनामा रुपान्तरित हुने प्रेम थिएन । उहाँको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । मीराले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् ।
नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरूलाई जबरजस्ती पक्डिएर ल्याउँथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरूलाई दूषित बनाएको थियो । ती कन्याहरूलाई कसैले पनि मुक्त गर्न सकेको थिएन ।
भगवान श्रीकृष्णले नरकासुरको वध गरेर सबै कन्याहरूलाई मुक्त गरेर सबैका घरघर पठाई दिए । घर गएका कन्याहरू पुनः कृष्णकहाँ फर्के तथा भन्न थाले कि उनीहरूलाई न त समाजले स्वीकार गर्यो न परिवारले नै । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरू आजदेखि कृष्ण पत्नी भयौ । उनीहरु भगवन श्रीकृष्णको पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी नै कृष्ण सोह्रहजार पत्नीका पति हुन पुगेका थिए ।
कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ
राजनीतिक र आर्थिक व्यक्तित्व
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे ।
प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्व दिइन्थ्यो । राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरूलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफूले राज्य विस्तार भने कहीं पनि गरेको देखिएन ।
अन्यायी शासकको वध गरेपछि त्यहाँको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरूले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरूले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफूले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो ।
उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो । तात्कालिन अवस्थामा निर्णयमा दुवै जना दाजु–भाइ सहभागी हुने गरेको भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो प्रणाली फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामुहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरूले गर्थे । ती शासक प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरूमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउँछ ।
नेपालमा कृष्ण भक्ति धारा
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन्द र स्वर्गद्वारी महाप्रभुले पनि कृष्णभक्ति सम्प्रदायमा योगदान गरेका छन् ।
स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहाँको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए । त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि सम्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् ।
वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथामार्फत् भजनपूर्ण कृष्णभक्ति कथा प्रवाहित गर्न पण्डित नारायणप्रसाद पोखरेलको पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ ।
कृष्णको जीवन
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरू सधै अनिर्णयताको शिकार हुनेहुँदा प्रत्येक चरणमा उनीहरूलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ ।
अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमा बस्नुपर्ने बाध्यता भएपछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त दिएका थिए ।
कुनै कुराको निर्णय गर्नु र गराउनु भनेको नै जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल सँग निःसँग रहने कर्मण्येवाधिकारस्ते‘को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरेपछि गीता स्वतः नै अवतरित हुनसक्छ । महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरूले स्वीकार गरेनन् त्यतिबेला श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरूलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो ।
प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरूको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ ।
महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नयाँ युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयाँ युगको शंखध्वनी थियो ।
उहाँ एक महान योद्धामात्र होइनन् शान्तिदूतको रुपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरूलाई उनले उपदेश दिएका छन् । त्यसैले उनी महान शिक्षक पनि हुन् । भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् । उनका गुण अनन्त छन् । सन्त पुरुषहरूले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरूले पूर्णावतारका रुपमा मन्दछन् ।
प्रतिक्रिया