काठमाण्डौ ३० चैत: नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोहि पनि बालबालिका पढ्नबाट बञ्चित नहुने बताएको छ ।
शनिबार नगरको शिक्षा समितिले आयोजना गरेको नगरपालिका स्तरीय भर्ना अभियान तथा शैक्षिक अन्तक्रियामा बोल्दै नगर प्रमूख टोक बहादुर वाईबाले गुणस्तरीय शिक्षा प्रदान गरेर नमूना नगर बनाउन त्रिपक्षी समन्वय अपरिहार्य रहेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयले मात्रै राम्रो विद्यालय र गुणस्तरीय शिक्षा हुने बताए ।
नगरभित्रका विद्यालयहरुको प्रधानाध्यपक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र शिक्षा विद्हरुलाई साक्षी राखेर मेयर वाईबाले शिक्षाको रुपान्तरण गर्न नगरपालिकाले अगामी शैक्षिक सत्रमा गर्ने योजना पनि सुनाए ।

आफु मेयरमा निर्वाचित भएपछि पहिलो सुधारको अभियान वाईबाले शिक्षा क्षेत्रबाट सुरु गरेका थिए । अधिकांश विद्यालयमा शिक्षक दरबन्दी मिलान भइरहेको छ । नगरभित्रका सबै विद्यालयमा विद्यूतीय हाजिरी मेसिन र इन्टरनेटको ब्यवस्था गरिएको छ ।
त्यस्तै नगरपालिकाले शिक्षकहरुको तलब मासिक भूक्तानी गर्ने कार्यको थालनी गरेको छ । साना कक्षाका बालबालिकाहरुको सिकाईमा थप सहज बनाउने भन्दै ‘टकिङ टिचर’ नामक उपकरण जडान गरिएको छ । ‘हामीले शिक्षामा केहि रुपान्तरण गर्ने काम सुरु मात्रै गरेका छौँ, नगरप्रमूख वाइबाले भने ‘यो सूरुवात हो, शिक्षा गतिलो भयो भने समाजको विकास पनि त्यहि अनुसार हुन्छ, त्यसैले गुणस्तरीय शिक्षा प्रदान गर्न कोहि कसैले कञ्चुसाँई नगर्नोस् ।’
कार्यक्रममा प्राध्यापक डाक्टर केदारभक्त माथेमाले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयको नेतृत्व गर्ने ब्यक्तिहरु बढी जिम्मेवार र रचनात्मक हुनु पर्ने बताए । ‘समाज सुहाँदो शिक्षालाई जोड दिनुपर्छ, शैक्षिक सामग्रीले हामीलाई हेरी रहेको छ, तर हामी शैक्षिक सामग्री छैन् कसरी पढाउने भनेर चिन्ता गर्छौँ । उनले भने ‘शिक्षकहरुले जहिले पनि कोर्स सक्ने ध्याउन्नमा लाग्दा विद्यार्थीहरुको सर्वाङ्गिण विकास हुन सकि रहेको छैन् ।’
तालिम र अनुभवले खारिएका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको मेहेनत विद्यार्थी केन्द्रित नहुदाँ प्रगति हासिलमा समस्या भइरहेको शिक्षा विद् माथेमाको भनाई छ । ‘जुन विद्यार्थी पढाइमा कमजोर छ, उसलाई हामी कक्षा कोठामा खास वास्ता गर्दैनौँ, उनले भने ‘जान्ने विद्यार्थी झन जान्ने हुन्छ, यसले गर्दा विद्यालय छोड्ने बालबालिकाको संख्या पनि बढ्न मद्दत पुग्छ । त्यसैले विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलापमा शिक्षकहरुले जोड दिनुपर्छ ।’
पूर्वसांसद कृष्ण प्रसाद सापकोटाले स्थानीय तहमा शिक्षालाई विकासको पहिलो आधार मानेर योजना बनाउने हो भने गुणात्मक शिक्षा प्राप्त गर्न खास समस्या नहुने बताए । उनका अनुसार शिक्षामा लगानी निकै कम छ । ‘यस भेगको शैक्षिक सुधारका लागि मैले संस्था नै गठन गरेर काम गरेको छु, हामीले कसरी गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छौँ भनेर विभिन्न सुचक बनाएका छौँ, उनले भने ‘त्यो नै मण्डनदेउपुरको शैािक्षक सुधारको सबै चिज हो त म भन्दिन, तर एक पटक ती विद्यालयहरुले सुचक कत्तिको पुरा भयो भनेर हेर्नुपर्छ ।’
पूर्वशिक्षा सचिव जनार्दन नेपालले ई लाईब्रेरी निर्माण गर्न नगरपालिकालाई सुझाव दिए । त्यस्तै उनले खास खास विषयमा मोबाइल शिक्षा राखेर समेत नगरपालिका भित्रको गुणस्तरीय बनाउन सकिने बताए । ‘खासमा विद्यालयको पठन पाठन सुधारमा प्रधानाध्यपकको भूमिका ठूलो हुन्छ उनले भने ‘समयानुकुल हाम्रा शिक्षण सिकाई क्रियाकलापहरु पनि फरक गराउँदै लैजानुपर्छ ।’
कार्यक्रममा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्य विमल फुयालले स्थानीय तहहरुले शिक्षा क्षेत्रको साना भन्दा साना समस्या पनि बेवास्ता गर्नु नहुने बताए ।
अन्तक्रियामा सहभागि प्रधानाध्यपाकहरुले कतिपय ठाउँमा विद्यार्थी संख्या अनुसार शिक्षकको अनुपात नमिलेको, शैक्षिक सामग्रीमा लगानी कम भएको जस्ता समस्या राखेका थिए ।
मण्डनदेउपुर नगरपालिका भित्र २८ वटा आधारभूत, १२ माध्यामिक विद्यालय र १ वटा क्याम्पस रहेका छन् । त्यस्तै ४२ वटा बाल विकास केन्द्र रहेको नगरपालिकाको शिक्षा शाखा प्रमूख प्रणराज न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले बैशाख २ गतेदेखि ८ गते सम्म वडा स्तरीय भर्ना अभियान सञ्चालन गर्ने कार्य योजना बनाएको छ ।
प्रतिक्रिया