काठमाडौँ, १४ चैत: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको सहकार्यमा आजदेखि ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को शुभारम्भ गरिएको छ । प्रथम चरणमा काठमाडौँ उपत्यकाका ३४ ट्राफिक प्रहरी कार्यालय र उपत्यका बाहिर वीरगञ्जसम्मको करिडोरमा पर्ने ३० ट्राफिक प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयको डाटा सेन्टरमा रहेको सर्भरमा जोडिने गरी उक्त प्रणालीको शुभारम्भ गरिएको हो । उक्त प्रणालीमार्फत सडक दुर्घटना भएलगत्तै त्यस सम्बन्धी तथ्याङ्क विद्युतीय प्रणालीमार्फत डाटा सेन्टरमा पठाउन सकिने प्रहरीले जनाएको छ ।
सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको आज काठमाडौँमा शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रणाली फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले सडक सुरक्षामा विशेष ध्यान दिन सडक सुरक्षा काउन्सिल बनाउने पहल गरिरहेको उहाँले बताउनुभयो । काठमाडौँलाई व्यवस्थित गर्नसके देशभर राम्रो हुने उहाँको भनाइ थियो । सो कार्यमा सरोकारवाला निकाय, नागरिक, सञ्चारकर्मीलगायतको सहयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सो प्रणाली अत्यन्त उपयोगी भएको र बीमा दाबी, तथ्याङ्क सङ्कलन तथा अनुसन्धान जस्ता बहुप्रयोजन कार्यका लागि प्रणाली फलदायी हुने बताउनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आगामी दिनमा दुर्घटना र यसबाट धनजनको क्षति नहोस् भन्ने उद्देश्यका साथ योजना निर्माण गर्न सो प्रणाली सहयोगी हुने बताउनुभयो । यसअघि झापाबाट दुर्घटना न्यूनीकरण गर्ने अभियान थालनी भएको थियो । प्रहरी महानिरीक्षक खनालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन तथा जाम हटाउन सरोकारवाला पक्षसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा पदमबहादुर शाहीले उक्त प्रणाली र यसको उपयोगितासम्बन्धी जानकारी दिनुभएको थियो । विसं २०७५ मङ्सिर ५ गतेदेखि उक्त प्रणालीको शुरुआत भएदेखि हालसम्म ५३२ सवारीसाधन दुर्घटनाको पूर्ण विवरण सो प्रणालीमा भण्डारण गरिएको छ ।
-रासस
प्रतिक्रिया