२०८२, १६ कार्तिक शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिका लागि सम्झौता, विमानस्थल दश घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिका लागि सम्झौता, विमानस्थल दश घण्टा बन्द हुने


काठमाडौँ, १९ कात्तिक: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । धावन मार्ग स्तरोन्नतिको काम शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले सम्झौतासँगै विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइने बताउनुभयो । उहाँका अनुसार अबको एक सातापछि आयोजनाका साथ अघि बढाइनेछ । काम थाल्नुअघि पूर्णरुपमा तयारीका लागि सामग्री र जनशक्ति दुवैको व्यवस्था गरी अप्रिलको पहिलो सातादेखि धावनमार्ग कालोपत्र शुरु गरिनेछ ।

विमानस्थल दश घण्टा बन्द हुने
क्यानको योजनाअनुसार आगामी अप्रिल १ तारीखबाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनको साथमा राति धावनमार्ग बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुनेछ ।

धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाएपनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी धावन मार्गको कालोपत्र परिवर्तन शुरु गर्न लागेको क्यानले जनाएको छ । करिब चार महीनामा धावनमार्गको कालोपत्रको काम सकिनेछ । धावनमार्गको काम सकेपछि बाँकी अरु चार महीनामा ट्याक्सी चल्ने मार्ग लगायतका काम सकिनेछ ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावन मार्ग एक वर्षभित्र पूर्णरुपमा मर्मत (कालोपत्र) गर्ने कार्य एक नम्बर प्राथमिकतामा राखिएको बताउँदै आउनुभएको छ । मन्त्री अधिकारीले धावनमार्ग मर्मत र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्राथमिकतामा रहेकाले एक वर्षपछि दुवै विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने बताउनुभयो । नेपाल पर्यटन वर्ष शुुरु हुँदा ती विमानस्थलका कारण पर्यटकको सङ्ख्या वृद्धि भई सन् २०२० मा २० देखि २५ लाख पर्यटक पुग्ने दाबी गरिएको छ ।

आयोजनाको आइतबार स्थलगत निरीक्षणका क्रममा मन्त्री अधिकारीले देशको प्रतिष्ठासँग जोडिएको विमानस्थलको धावनमार्ग परिवर्तनको काम समयमै गुणस्तरयुक्त बनाउन सरोकारवालालाई निर्देशन दिनुभएको थियो । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार आगामी फागुनदेखि चार महीना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिनेछ ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ । विमानस्थलका अनुसार धावनमार्ग खासगरी जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ ।

यसरी गरिन्छ मर्मत
विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।

क्यानले धावनमार्ग मर्मत गर्न पर्याप्त उपकरणको व्यवस्था गर्नेछ । तीन वटा जोत्ने मेशिन, तीन वटा पेभलर मेशिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गर्ने प्राधिकरणले जनाएको छ । महानिर्देशक गौतमले धावनमार्गबाहेक पूरै ट्याक्सी वे मर्मत गर्नुपर्नेछ । खासगरी ट्याक्सी डीदेखि बीसम्म मर्मत गर्नुपर्ने अवस्थामा छ । सो कार्यका लागि उपकरण सबै विदेशी हुनेछन् ।

चुनौतीपूर्ण काम
धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरण पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनकी पहिलो पटक यो काम गर्दैछौँ”, गौतमले भन्नुभयो । बारम्बार कालोपत्र उप्किएर अवरुद्ध हुँदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिने भएको हो ।

विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत शुरु गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्र उक्काएर मर्मत गरिनेछ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्र हटाएर नयाँ कालोपत्र हाल्ने प्राधिरणको योजना छ । कालोपत्रको काम हुँदा कुनै समस्या आउन नदिनसमेत सतर्कता अपनाइएको छ । त्यसका लागि आवश्यक सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको विमानस्थलले जनाएको छ ।

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्र फेरिएको छैन । विमानस्थलको कालोपत्र सामान्य मर्मत गर्दै काम चलाइँदै आएको छ ।

विमानस्थलमा अहिले दैनिक करीब १०० अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । यो विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा ३१ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ४६ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा