२०८३, १६ आश्विन शनिबार

राउटे वस्तीमा कतै दशैको तयारी, कतै चटारो

राउटे वस्तीमा कतै दशैको तयारी, कतै चटारो


सुर्खेत, २६ असोज यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ ।

हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् ।

यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताउनुभयो ।

“दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ” स्थानीय गङ्गटे बजारमा भेटिनुभएका उहाँले भन्नुभयो, “चिसो बढ्यो, दशैँ पनि आयो, दशैँ मनाएर अन्तै सर्नुपर्ला ।” ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उहाँको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले आज बस्तीमै पुगेर राउटे समुदायलाई असोज महीनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु दुई हजार प्रदान गर्दै आएको छ ।

राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने प्रतिक्रिया दिए । “भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो” भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक युवाले भन्नुभयो ।

दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् ।

राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् । राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् ।

यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् ।

दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् ।

मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् ।

देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् ।

मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो । “शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उहाँले भन्नुभयो, “त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौं ।”
– प्रकाश अधिकारी

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ५१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार