बनेपा, २४ असोज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेको बैठक पार्टी कार्यालय बनेपामा आज सम्पन्न भएको छ ।
बैठकको निर्णय हेर्दा घुमिफिरी रुम्जाटार भनेझैं पूर्ववत दुई पार्टीका पदाधिकारीलाई नै पार्टी चलाउने जिम्मेवारी सुम्पिएको छ ।
जिल्ला कमिटीमा सिफारिस गरिएको भनिएका सदस्यहरुले आजको बैठकमा तालीसमेत पड्काउने अवसर पाएनन्, भने अधिकांशलाई बैठकबारे कुनै जानकारी समेत नभएको एक सिफारिस सदस्यले बताएका छन् ।
आज सम्पन्न भएको बैठकको सिनारियोलाई हेर्दा कम्युनिस्टहरुले आफ्नो संगठन निर्माण र परिचालनमा लोकप्रिय विधीको रुपमा अंगाल्दै आएको लेलिनवादी संगठनात्मक सिद्धान्तलाई पदाधिकारी बाहेकका जिल्ला कमिटीका सदस्यहरुले अक्षरस पालना गरी पाउ पर्नुपर्ने देखिएको छ ।
यो सिद्धान्तअनुसार व्यापक जनवादको जगमा केन्द्रीयताको सृष्टि हुन्छ र केन्द्रीयताले संगठनको निर्णयलाई कार्यान्वन गराउन जनवादी अभ्यासको सुनिश्चितता गर्ने गर्दछ । जनवाद विनाको केन्द्रीयता नोकरशाही र तानाशाही बन्न जान्छ ।
यो पार्टी संगठन निर्माण तथा संचालनका लागि गलत अभ्यास सावित हुने शंका छैन । जनवादी केन्द्रीयताले दुई विपरित धु्रवलाई मिलाउनु पर्छ । त्यसका लागि संगठनमा व्यापक छलफल र बहस आवश्यक हुन्छ । विहानीले दिनको संकेत गर्दछ भनेझैं काभ्रेको नेकपाभित्र यसको कुनै संकेत देखिंदैन ।
बैठकमा नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश नं. ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितबहादुर तामाङको आतिथ्य उस्थितिमा सम्पन्न बैठकको अध्यक्षता प्रदेश नं. ३ का अध्यक्ष नारायण दाहालले गरेका थिए ।
बैठकमा प्रदेश नं. ३ का सचिव आनन्दप्रसाद पोखरेलले पनि सम्वोधन गरेका थिए । यसअघि जिल्ला पार्टी एकता कार्यदलले माथिल्लो कमिटीमा जिल्ला कमिटीको नाम सिफारिस गरेपछि कार्यकर्ताले असन्तुष्टि जनाउँदै हस्ताक्षर संकलन समेत गरी बुझाएका थिए ।
आजको बैठकमा कार्यदलले तोकेका जिल्ला कमिटी भनिएका सबै सदस्यहरुलाई आमन्त्रण गरिएको थिएन । जिल्ला कमिटीको नाम सिफारिस गरिएपछि दुबै पार्टीका कार्यकर्ताहरुका बीचमा चरम असन्तुष्टि भएकाले नेतृत्वको खुलेरै आलोचना समेत गर्ने गरेको पाइएको छ ।
कार्यकर्ताको त्यही असन्तुष्टि चुलिने भयले बैठकमा साविक दुबै पार्टीका पूर्व जिल्ला इन्चार्ज एवं पूर्व पदाधिकारीहरुलाई सहभागी गराइएको नेकपा निकट स्रोत बताउँछ ।
त्यही भएकाले बैठकपछि प्रेशित विज्ञप्तिमा समेत काभ्रे जिल्लामा हाल पार्टी कमिटी गठन भइ नसकेको अवस्थामा पार्टीको जिल्ला कमिटीका पदाधिकारीहरुलाई नै जिल्ला कमिटीको दैनिक कार्य सञ्चालन गर्ने अधिकार समेत प्रदान गर्ने निर्णय गरेको छ ।
पदाधिकारी भन्नाले दुवैपार्टीका पूर्व जिल्ला ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष, सचिव र सहसचिव पर्दछन् । जसअनुसार नेकपा काभ्रेको दैनिक कार्य सञ्चालन १० जनाले गर्ने भएका छन् । कार्यलय सचिव भने प्रदेश सांसद समेत रहेका बसुन्धरा हुमागाई र कार्यलय सहायक सचिव राजकुमार तामाङलाई तोकिएको छ ।
बैठकले नेकपाको जिल्ला कार्यालय पुर्व (एमाले) को जिल्ला कार्यालय बनेपा काभ्रेबाट संचालन गर्ने निर्णय गरेको छ । बैठकबाट स्थानीय स्तरका पार्टी कार्यालयहरु स्थापना र सञ्चालन गर्न निर्देशन गरिए पनि तत्काल पार्टी संगठनको काममा तल्ला कमिटीहरु चलायमान हुने देखिदैंन ।
जिल्ला कमिटीमा नसमेटिएका कार्यकर्ताहरु नेतृत्वको आलोचना गर्दै खिसीटिउरीमा नै उनीहरुको दिन वित्ने देखिन्छ । बैठकले नेकपाको काभे्र जिल्ला मातहतका तल्लो कमिटीको एकीकरण गर्ने कामलाई नियमित बैठक बसी अगाडि बढाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काभ्रेको दुवै पार्टीभित्र रहेका सम्पूर्ण संगठित सदस्यहरुलाई एकिकृत गरी अभिलेख तयार गरी पार्टी केन्द्रमा पठाउने पनि बैठकले निर्णय गरेको विज्ञप्तिले भनेको छ । पूर्व दुबै पार्टीमा रहेको सम्पूर्ण सम्पती तथा दस्तावेज एकिकृत गरी अभिलेख राख्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेकपाको तल्ला कमिटीहरुको एकीकरण अल्मलिइरहेको अवस्थामा सम्पन्न यो बैठकले स्थानीय स्तरको पार्टी संगठनको कामलाई सक्रियताका साथ अगाडि बढाउन बाटो खुलेको बैठकमा सहभागी जिल्ला नेताहरुले बताएका छन् ।
प्रतिक्रिया