२०८३, ९ आश्विन शनिबार

दुई वर्षमा सबै गरीब पहिचान गरिने

दुई वर्षमा सबै गरीब पहिचान गरिने


काठमाडौँ, ९ कात्तिक : सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ । जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने भूमि व्यवस्था तथ सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

चालू आवमा रु ६३ करोड विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकताअनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्लाबाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो । गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या, घर, सुविधा, सम्पत्ति, जातजाति, भौगोलिक क्षेत्रलगायतलाई आधार मानेर विभिन्न २६ जिल्लामा सर्भेक्षण सम्पन्न भइसकेको छ । गरीब पहिचान भएका जिल्लामा खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् ।

ती जिल्लाका १२ लाख २४ हजार ४१७ घरपरिवारका बारे अनुसन्धान गर्दा सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो । सर्भेक्षणअनुसार अति गरीब एक लाख ८८ हजार २३२, मध्यम गरीबमा एक लाख १९ हजार ७५४ र सामान्य गरीबमा ८३ हजार ८४५ जना पाइएका छन् । आठ लाख ३२ हजार ५८६ गैरगरीब पाइएका छन् ।

सर्भेक्षण भएका क्षेत्रमा गरीब परिवारलाई परिचय वितरणको कार्यक्रम स्थानीय तहको सहकार्यमा शुरु भइरहेको छ । उक्त कार्य सम्पन्न भएपछि गरीबी निवारणका लागि आवधिक योजना तथा दिगो विकास लक्ष्य केन्द्रित भई आयआर्जन, सीपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्तालगायत सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने नीति रहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो ।

सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले गरीबीको आआफ्नै ढङ्गले परिभाषा गरेका कारण वास्तविक गरीबको सङ्ख्या प्राप्त हुन सकेको छैन । संविधानले सबै नागरिकलाई रोजगारीको प्रत्याभूति गर्न रोजगारीको हकको व्यवस्था गरेको भए पनि सो कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय रोजगार नीतिको तर्जुमा गर्ने, बेरोजगारीको लगत सङ्कलन गर्ने तथा स्वास्थ्य, शिक्षा, रोजगारको व्यवस्था गरेर दिगो विकासको लक्ष्य हासिल गर्न आवश्यक देखिएको बताइएको छ ।

अर्थशास्त्री राधेश्याम मालाकारका अनुसार प्रत्येक वर्ष गरीबी घटिरहेको समाचार आए पनि निरपेक्ष गरीबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा सुधार हुन सकेको छैन । दुर्गम क्षेत्र तथा पहाडी र हिमाली जिल्लामा गरीबको अवस्था दयनीय देखिएको छ । मुलुकको गरीबी बढ्नाको कारण देशको जनसङ्ख्यालाई आवश्यकतानुसार उत्पादन नहुनु, रोजगारीका अवसर प्राप्त नहुनु, पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिन नसक्नुजस्ता विषयलाई मानिन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ५५ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा