काठमाडौँ, २ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ । छदिने औपचारिक भ्रमणका लागि उहाँ बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा उहाँले ‘एक क्षेत्र एक मार्ग’(बिआरआइ)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उहाँले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्नु हुनेछ ।
भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया