२०८३, १६ आश्विन शनिबार

भक्तपुरमा गाईजात्रा सम्पन्न

भक्तपुरमा गाईजात्रा सम्पन्न


भक्तपुर, १७ भदौ : भक्तपुरमा साताव्यापीरुपमा मनाइने गाईजात्रा पर्व आज सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको हो । जनै पूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिनताङ घिसी नाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो ।

जात्रा समापनका क्रममा आज घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, कार्टुन, प्ले कार्ड र प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो भने भैरब मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोल टोल घुमेर बत्तीसमेत दिएका थिए । श्रीकृष्णजन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी गएर सम्पन्न भएको थियो । टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न भएको थियो ।

बाह्रवर्षे नीलबाराही नाच सम्पन्न
मध्यपुरथिमि नगरपालिका–८ बोडेमा पाँच दिनदेखि निरन्तररुपमा सञ्चालन हुँदै आएको नीलबाराही नाच आज सम्पन्न भएको छ । बाह्र वर्षपछि एकपटक फरक शैलीमा प्रदर्शन गरिने धार्मिक महत्व बोकेको यो नाच यस वर्ष चार दिनसम्म चल्ने गर्दथ्यो । स्थानीयवासीले १२ वर्षे नीलबाराही नाच भव्यरुपमा मनाएको बताउँदै स्थानीयवासी दिलकृष्ण प्रजापतिले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि शुरु भएको नाच सम्पन्न भएको हो ।

बोडेमा राक्षसहरुले दुःख दिएपछि नीलबाराही देवीले मानवको रुप धारण गरी बोडे नगरका स्थायी बासिन्दामध्ये स्थानीय धों थरका एक जनालाई जङ्गलमा लगेर चार दिनसम्म गोप्य तवरले नाचको सम्पूर्ण विधि सिकाएर पठाएपछि वर्षौंअघि देखि शुरु भएको यो नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ । विभिन्न देवीदेवताको आकृति रहेको मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओढ्न नहुने, दिसा–पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम रहेको प्रजापतिले बताउनुभयो ।

तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने यो नाचलाई प्रत्येक टोल तथा चोकमा धा बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर नचाइन्छ । नीलबाराही गुठी नै सञ्चालन गरी स्थानीयवासीले नाचलाई जोगाउँदै हरेक वर्ष यो नाच सञ्चालन गर्दै आएका छन् । नीलबाराही नाचलाई राति, बिहान र दिउँसो नगरका भित्री टोलदेखि चोकमा देखाउने गरिन्छ । बोडेको नारायणथान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुन ः नारायणथानमा समापन गरिने परम्पराअनुसार यो नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ को संलग्नतथा रहेको हुन्छ । यस वर्ष १२ वर्षे मेलाअन्तर्गत ‘खः त्यलेगु प्याखँ’का रुपमा नीलबाराही गणलाई विगतका वर्षमा भन्दा पृथक शैलीमा नचाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ९ : ०१ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार