२०८३, १५ आश्विन शुक्रबार

भड्किलो तीज : हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै

भड्किलो तीज : हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै


पोखरा, ८ भदौ : नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताउनुभयो ।

“एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उहाँले भन्नुभयो । धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको उहाँको भनाइ थियो । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सुस्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ ।

तीजको आफ्नै मौलिकता रहे पनि आर्थिक आडम्बरका कारण यसको मौलिकताम समेत ह्रास हुँदै गएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालकी जिल्लासदस्य अम्बिका भण्डारीले बताउनुभयो । “धन प्रशस्त हुनेले तीजलाई भड्किलो बनाउँदा यसले विकृति त ल्याएको छ नै, तीजका मौलिक गीतसमेत हराउँदा पछिल्ला वर्षमा यो रत्यौली जस्तो बनेको छ,” उहाँले भन्नुभयो ।

नारीका दुःख, सुखका कथा, व्यथा, समाजको जीवन्त चित्रणलाई तीजको गीतमार्फत् प्रस्तुत गरिँदै आएकामा यसको मौलिकता हराउँदै उच्छृङ्खलपूर्ण गायन एवं छायाङ्कनले गम्भीर चिन्ताको विषय बनाएको उहाँको भनाइ थियो । केही वर्ष अघिदेखि तीजका नाममा महङ्गा गहाना र कपडाको प्रदर्शन गर्ने प्रवृत्ति चुलिएको भए पनि पछिल्ला वर्ष भने त्यसमा नियन्त्रण आएको मितेरी नारी समूहकी अध्यक्ष मीरा पौडेलको धारणा थियो ।

महङ्गा गरगहनाको प्रयोग कम हुँदै गए पनि खानपिन र भोजभतेरमा भने अझै नियन्त्रण हुन नसकेको बताउँदै उहाँले त्यसका लागि प्रत्येक टोल तथा समुदायमा सचेतना अभियान सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाली समाजमा विसं ०६६ पछि ०७० सम्म तीजमा महङ्गा गरगहनाको प्रयोग निकै बढेको पाइन्छ । यस समयमा जग्गाको अत्याधिक किनबेचसँगै गरगहनाको प्रयोग त्यही रूपमा बढेको हुनसक्ने महिला विकास समिति, पोखराकी सदस्य सीता भुसालको धारणा थियो ।

आर्थिक सम्पन्नताको प्रदर्शनकै लागि महङ्गा गरगहना लगाउने, महङ्गा होटेलमा डेढ महिनाअघिदेखि नै भोज खाने बढ्दो क्रमले विपन्न वर्गमा मनोवैज्ञानिक असर पार्ने उल्लेख गर्दै उहाँले तीजजस्ता धार्मिक आस्थाका संस्कृति विकृतिमा परिणत भएकाले सामाजिक सङ्घ संस्थाको सहकार्यमा जागरण अभियान थाल्नु अपरिहार्य भएको बताउनुभयो । मीतेरी नारी समूहकी पूर्वअध्यक्ष पवित्रा जिसीले एकताबद्ध प्रयासबाट सचेतना अभियान अघि बढाउन सके समाजमा हुनेखाने र हुँदा खानेबीचको बढ्दो दूरीलाई कम गर्दै तीज पर्वको मौलिकतालाई जगेर्ना गर्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  १० : ०१ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र