२०८२, २० कार्तिक बुधबार

दङ्गै छन्, आश्रममा आश्रित वृद्धवृद्धा

दङ्गै छन्, आश्रममा आश्रित वृद्धवृद्धा


७ भदौ, काठमाडौ । काठमाडौंको पशुपति वृद्ध आश्रममा आश्रय लिंदै आएका वृद्धवृद्धाहरुका केही गुनासा भए पनि समग्रमा उनीहरु आश्रमले दिएको सुविधाप्रति खुसी नै देखिएका छन् । आश्रममा आश्रित रहेकाहरु अधिकांशले १९९० सालमा गएको महाभुकम्पलाई नजिकबाट अनुभव गरेकाहरु नै छन् । वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापा त्यस्तै वृद्धामध्येकी एक हुन् । विसं १९९० को भूकम्पमा परिवारका सबैलाई उनले गुमाएकी थिइन् । उनलाई बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्काएको थियो ।

काठमाडौको पुरानो बानेश्वरमा जन्मिएकी उनको बाल्यकाल र युवावस्था टुहुरी भएकीले दुःखमै वित्यो । दश वर्षको उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा फर्किएपछि उनले अरुका घरमा काम गरेर जीविका चलाउन थालिन् । कहिले नेपाली त कहिले भारतीयको घरको घरायसी काम गरेर दैनिकी चल्थ्यो, उनको । उमेरमा उनले ३ जनाको घरमा हरेक दिन काम गर्दथिन् । घरमा काम गरेका घर मालिकहरुले उनलाई आफ्नै घरमा लिएर जान मन गर्थे तर उनले काठमाडौमै मर्ने चाहनाले उनीहरु कसैको आग्रहलाई पनि स्वीकार गरिनन् । उनी भन्छिन्, “आफैंँलाई हुर्काउनेको घरमा त गइनँ, अन्त त कहाँ जानू र ?”

कुनै समय उहाँ आफ्नो ठूलो बुबाकोमा साथीहरुको सल्लाह बमोजिम अधिकार खोज्दै गएकी थिइन् । तर उनको ठूलोबुबाले उनलाई हप्कीदप्की गरेर पठाइदिए । भुकम्पमा सबै अभिभावक गुमाएकी पूर्णकुमारीलाई विरक्तिनुको अर्को विकल्प थिएन । भएकामध्ये नजिकका आफन्तले नै बचन लगाएर हप्की र दप्की गरेपछि उनको मन झनै विरक्तियो । उनी भन्छिन्, “पहिलेको जिन्दगी सम्झँदा निकै कहाली लागेर आउँछ, आश्रममा आएपछि भने नयाँ जिन्दगी पाएकी छु,”, “पहिले कहाँ बस्ने के गर्ने भन्ने अन्यौल थियो । म वेसहारा थिएँ । अहिले त्यस्तो स्थिति छैन । साहरा पाएकी छु ।” उनका अनुसार आश्रममा आइसकेपछि थापामा नसोचेको परिवर्तन आएको छ । विगत १५ वर्षदेखि पशुपतिको वृद्धाश्रममा बस्दै आएकी उनको दौतरी हुन आएकी छिन् सिन्धुपाल्चोककी सीता अधिकारी । सीता आश्रममा बस्न थालेपछि आफूलाई निकै राहत मिलेको उनको अनुभव छ । विसं २००१ मा जन्मिएकी सीताको छ वर्षका उमेरमै विवाह भएको थियो । उनी भन्छिन्, “आफू न रुपमा राम्रो, न जरङमरङ गरेर काम गर्न सक्ने हट्ठाकट्ठा । नसक्ने कमजोर मान्छेलाई घरले माया दिने कुरै भएन । त्यसैले काम गर्न नसक्ने भएपछि विवाह गरेको तीन वर्षमा नै घर त्यगिदिएँ ।” घर त्यागेपछि माइतीको सहारा पाइन्छ भन्ने आशा त थियो । त्यो पनि पाइएन । यसरी वेसहारा भएपछि काठमाडौंमा सानोतिनो काम गर्दै गुजारा चलाउँदै आएकी थिएँ । काठमाडौँ आइसकेपछि धेरै वर्ष थापाले जस्तै उनले पनि अरुका घरमा नै काम गरेकी थिइन् । काम गर्न नसक्ने भएपछि घरबेटीकै सल्लाहबाट १९ वर्षअघिदेखि वृद्धाश्रमको साहारामा उनी आइपुगेकी थिइन् ।

“यहाँको सेवासुविधा त नराम्रो होइन, बूढाबूढीकै व्यवहारका कारण हामी पनि नराम्रोमा पर्ने गरेका छौं ।’’ वृद्धाआश्रमको लामो बसाईको अनुभव उनले सुनाईन् । विगतमा आश्रममा बस्ने केही वृद्धाले आफूलाई खान दिएको बिस्कुट पनि बाहिर लगेर बेच्ने गरे । त्यसलाई वृद्धआश्रम प्रशासनले राम्रो मानेन । त्यसो त वृद्धाश्रममा घरपरिवार कोही नभएका मात्र नभई आफूलाई परिवारमा राम्रै भएका पनि काम गर्न नसक्ने भएका वृद्धवृद्धाले पनि आश्रय लिएका छन् । आश्रममा बस्दै आएका अर्का १०४ वर्षीय अम्रीराज नन्दस्वामी निकै तन्दुरुस्त देखिन्छन् । काठमाडौं बाँसबारी घर भई चार वर्षअघि उनी वृद्धाश्रम आएका हुन् । उनको अनुभवमा पनि वृद्धाश्रमको सेवासुविधा राम्रो छ, उनी खाना खान जान नसक्ने अवस्थाका छन् । आफू बस्ने गरेको ठाउँसम्म नै खाना ल्याइदिने गरेका छन्, खसी हुदै उनले भने नसक्नेलाई यहाँभन्दा के सुविधा दिनु । विसं १९७२ पुसमा जन्मिएका उनले ३० वर्षको उमेरमा नौ वर्षकी केटीलाई विवाह गरेको थिए । अहिले पनि उनका दुई छोरा छन् । घरव्यवहारले झेल्ने र त्यसको झिंझर्को लाग्ने भएकाले परिवारमा बस्न मन उनलाई लागेन । त्यसैले वृद्धाश्रम आइपुगें । बेलाबेलामा घरबाट लिन पनि आउँछन्, उनीहरुले हेलाँ गरेका हैनन् । मन लागे गएर बस्ने पनि गरेको छु, उनले भने, ‘म आफैंलाई नै देवतीर्थ घुम्न मन लागेर हो ।” छोराहरुबाट राम्रै व्यवहार भएको छ । समय समयमा परिवारले भेट्न आउँछ । मन लागेको खानेकुरा खान दिन्छन् । परिवारसँग त्यस्तो गुनासो केही छैन उनलाई

पहिले आश्रममा बाहिरबाट आउने व्यक्तिले सीधै आफूले ल्याएका खानेकुरा तथा रकम वृद्धवृद्धालाई दिने गर्थे तर तिनले बाहिर लगेर बिक्री गर्ने र रक्सी खाने, कुलतमा लाग्ने गरेपछि यसले विकराल समस्या निम्त्यायो । त्यसपछि भने व्यवस्थापन समितिले त्यसलाई एक वर्षअघि मात्र रोकेको हो । यही कारण कतिपय वृद्ध भने यसबाट सन्तुष्ट देखिंदैनन् । आश्रममा बस्दै आभएका रामेछापका यमबहादुर कार्की त्यसकै एउटा उदाहरण हुन् । डेढ वर्षदेखि अपाङ्गता भएका उनी बाहिरबाट ल्याएको खानेकुरा समेत प्रशासनले खटाएर दिने गरेको बताउछन् । “पोहोर पोहोर त हामीले बाहिरबाट ल्याएको खानेकुरा सीधै पाउँथ्यौँ । अलिअलि पैसा पनि देख्न पाइन्थ्यो । अहिले त ल्याएको खानेकुरा पनि उतै राख्छन्” असन्तुष्ट भावका साथ उनले आक्रोश व्यक्त गरे । आश्रममा ल्याइएको खानेकुरा तथा लत्ताकपडा रातारात कर्मचारीले बाहिर पठाउने गरेको उनको आरोप छ । यस वर्षको जाडोमा आफूले एक जोर मोजाबाहेक अरु केही पनि देख्न नपाएको कार्कीले गुनासो गरेका छन् ।

आश्रमको क्षमता २ सय ३० भए पनि हाल भूकम्पका कारण एउटा भवन भत्किएपछि १ सय ७० मात्र वृद्धवृद्धाले आश्रय लिएका छन् । बाहिरबाट ल्याइएका खानेकुरा सहयोगदाताले सीधै दिने भएपछि विविध समस्याका कारण व्यवस्थापनले रोकेको पशुपति समाजकल्याण समिति, आश्रमका प्रशासन प्रमुख कृष्णराज कँडेलले जनाए । “बाहिरबाट ल्याइने खानेकुरा तथा रकम हामीले नै लिएर वृद्धवृद्धालाई बाँड्ने गर्छाै । बाँकी अन्य आश्रममा पठाइदिन्छौं”, कँडेलले भने ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : ४३ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई