२०८३, १५ जेष्ठ शनिबार

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु


भीमदत्तनगर, ७ भदौ  : शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।

बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भन्नुभयो ।
छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उहाँले दुःख मनाउ गर्नुभयो । टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिनुभएको छ । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बन्नुभएको छ । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भन्नुभयो ।

कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भन्नुभयो, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उहाँ बताउनुहुन्छ ।

घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आउनुभएको छ । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति÷नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भन्नुभयो । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उहाँ बताउनुहुन्छ ।

यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्कनुभएको छैन । पतिवियोगको पीडा झेल्दै आउनुभएकी उहाँले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोख्नुभयो ।

“घटना भएको तीन वर्ष भया,े म घर बाहिर निस्कन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाउनुभयो, चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा÷छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताउनुहुन्छ । उहाँका छोरा÷छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उहाँले भन्नुभयो, “छोरा÷छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।”

त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा÷छोरी काठमाडौँमा बस्दै आएका छन् । घरमा भेटिनुभएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउनुहुन्छ ।

“यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उहाँले भन्नुभयो, “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

“कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हँुदैन,” उहाँले भन्नुभयो । विसं २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।

–शेरबहादुर सिंह

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  २ : ३३ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण