काठमाडौं / वाम गठबन्धनको संयुक्त कार्यदलले प्रदेशका मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो आज लगाउने भएको छ । त्यसका लागि कार्यदलको बैठक आइतबार दिउसो ३:०० बजे एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बस्दैछ । यसअघि नै वाम कार्यदलले प्रदेश सरकार संविधानले तोकेको भन्दा सानो आकारको बनाउने सहमति गरिसकेको छ । कार्यदलले राष्ट्रियसभा सदस्यको टुंगो लगाएपछि अव प्रदेशमा केन्द्रित भएको हो । प्रदेशमा पनि लगभग सहमति भइसकेको बताइएको छ ।
कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र माओवादी केन्द्रका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि दुई अध्यक्षबीच ‘वान–टु–वान’ बैठक भएको थियो ।
वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ भने एमालेले त्यसमा सहमतिमा पुग्न नसकिएको बताएको छ । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंग्याउनछ छलफल जारी छ । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत रहेकाले तीनमा माओवादीको दाबी छैन ।
प्रदेश ५ मा चुनावअघिकै सहमति अनुसार एमालेका शंकर पोखरेल मुख्यमन्त्री निश्चित छ । प्रदेश नम्बर ४ मा पनि एमालेका दुई बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ प्रतिस्पर्धा छन् ।
प्रतिक्रिया