२०८२, २१ माघ बुधबार

‘१४ करोड खर्चेको सडक १४ दिनमै भत्कियो’

‘१४ करोड खर्चेको सडक १४ दिनमै भत्कियो’

खबरघर
0
Shares

११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ ।

यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रममार्फत् यो सडकको स्तरोन्नती गरिएको हो । कुमार एन्ड सन्स् कन्स्ट्रक्सनले यसको जिम्मा लिएको छ ।

कम्पनीले सडक स्तरोन्नती त गर्‍यो तर प्रतिफल ‘शून्य’ देखिएको छ ।

विश्व बैंकको १३ करोड ३८ लाख रुपैयाँ खर्च भएको उक्त सडकको अधिकांश खण्डको ओटासिल उप्किसकेको छ । स्थानीय बासिन्दाको भनाइ मान्ने हो भने ओटासिल गरिएको यो सडकको कालोपत्रे १४ दिन पनि टिकेन ।

अहिले यो सडकआसपासका बासिन्दा धुलोबाट आजित छन् । विशेषगरी सर्लाही, बारा, वीरगञ्ज, हेटौंडालगायत क्षेत्रबाट छुट्ने टाटा सुमो र साना निजी गाडी यही मार्ग भएर गुड्छन् । मध्यम किसिमका सवारीको चाप हुने यो सडकमा पानी पर्नासाथ सवारी साधन गुड्न सक्दैनन् ।

कालोपत्रे उप्किसकेकाले मोटरसाइकल चलाउन पनि जोखिमपूर्ण छ । यात्रु पनि धुलोका कारण पीडित छन् ।

स्थानीय बासिन्दामा कालोपत्रे गरिएपछि धुलो र हिलो कम हुने अपेक्षा थियो । उनीहरुले जिविस र ठेकेदारलाई दोषि देखाउँदै आएका छन् ।

‘ओटासिल नै भए पनि तीन महिना दिन त टिक्नुपर्थ्यो, १५ दिन पनि टिकेन,’ फाखेलका सुरेश लामाले भने, ‘सडकभरि पहिरो आउनेगरी बिनाइन्जिनियरिङ अध्ययन सडक निर्माण गर्दा कान्ला भासियो । अहिले सडकमा पहिरो नै पहिरो छ ।’

उनले भनेजस्तै गरी सडक विस्तार गरिएका कारण धेरै स्थानमा पहिरो खसेको छ । नालाहरु थुनिएका छन् भने खाल्डा नै खाल्डा छन्, सडकमा ।

तर, एकतर्फी रुपमा सवारी चल्ने गरी पहिरो हटाए पनि धेरै स्थानमा जोखिमयुक्त अवस्था छ । भर्खरै तयार भएको सडकमा पनि सवारी चलाउन निकै मुस्किल परेको यही रुटमा सुमो चलाउने वीरगञ्जका मनोज अन्सारी बताउँछन् ।

कतिपय खण्डमा ठेकेदारले काम नसक्दै जिविसले भुक्तानी दिएको आरोप स्थानीय बासिन्दाको छ ।

जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख सोमराज तिमल्सिना ओटासिल उप्किएको स्वीकार्छन् । अब यसमा स्यान्ड-सिलसहितको ‘सेकेन्ड कोट ओटासिल’ गर्न लागिएको उनी बताउँछन् ।

‘अब यसमा अर्को लेयर अेटासिल पनि गर्छौं,’ तिमल्सिनाले भने, ‘यसअघि देखिएका सबै समस्या समाधान हुनेगरी पूरै खण्डमा स्यान्ड-सिलसहितको ओटासिल गर्न लागेका छौं ।’

विश्व बैंकसँग जिविसले यस सडकको समथर भागमा १६ मिलिमिटर र उकालोमा ३२ मिलिमिटर बाक्लो ओटासिल गर्ने सम्झौता गरेको छ ।

तर, पाँच मिलिमिटर पनि ओटासिल नगरिएका कारण सडक पुरानै अवस्थामा फर्किएको स्थानीय बासिन्दा बताउँछन् । गुणस्तरहीन काम हुँदा पनि कसैले ध्यान नदिएको गुनासो गर्छन्, स्थानीय श्यामलाल ठकुरी ।

इन्जिनियर तिमल्सिनाले दोहोरो ओटासिलका लागि लागि विश्व बैंकले सडक परियोजनामा थप ५५ लाख ‘भेरिएसन’ दिएको बताए । उनले अहिलेसम्म कम्पनीलाई १० करोडभन्दा बढीको भुक्तानी दिइसकेको जानकारी दिए ।

‘भएको कामको भुक्तानी गरिसक्यौं । अब बाँकी भेरिएसनसहितको काम सकेपछि मात्रै दिन्छौं,’ इन्जिनियर तिमल्सिनाले भने ।

सरकारले दीर्घकालीन महत्वका सडकमा अस्फाल्ट -बाक्लो र गुणस्तरीय) कालोपत्रे गर्न खासै चासो नदिँदा त्यसको फाइदा भने ठेकेदार कम्पनीले उठाइरहेका छन् । सडकको ओटासिल चाँडै उप्किने तर्क गर्दै कमसल काम गरिरहँदा राज्यका निकाय पनि आँखा चिम्लिएर बसेका छन् ।

सरकारले पनि ओटासिलमा खर्च गर्नुको साटो अस्फाल्ट पिचमा ध्यान दिन सकेको छैन । दातामार्फत् बनेका सडकमा पनि ओटासिलकै प्रयोग गर्ने सरकारी नीति पनि हास्यास्पद छ ।

१५ किलोमिटरको सडक स्तरोन्नतीमा झण्डै १४ करोड खर्चिँदा पनि त्यसले स्थानीयवासीलाई कुनै लाभ दिन सकेको देखिँदैन । त्यसैले फाखेल क्षेत्रका बासिन्दा सरकारले गरेको खर्चलाई ‘बालुवामा पानी’को संज्ञा दिइरहेका छन् ।

२०५७ सालमा स्थानीय बासिन्दा र जिविसको पहलमा यो सडक निर्माण भएको थियो । यसअघि पनि यो सडकमा झण्डै तीन करोड खर्चिएर ओटासिल नै गरिएको थियो ।

२०६८ मा दुई करोड ५३ लाख ३८ हजार रुपैयाँमा ओटासिल गरिएको सडक तुलनात्मक रुपमा अहिलेभन्दा बढी टिकेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ११ : १२ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक