११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ ।
यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रममार्फत् यो सडकको स्तरोन्नती गरिएको हो । कुमार एन्ड सन्स् कन्स्ट्रक्सनले यसको जिम्मा लिएको छ ।
कम्पनीले सडक स्तरोन्नती त गर्यो तर प्रतिफल ‘शून्य’ देखिएको छ ।
विश्व बैंकको १३ करोड ३८ लाख रुपैयाँ खर्च भएको उक्त सडकको अधिकांश खण्डको ओटासिल उप्किसकेको छ । स्थानीय बासिन्दाको भनाइ मान्ने हो भने ओटासिल गरिएको यो सडकको कालोपत्रे १४ दिन पनि टिकेन ।
अहिले यो सडकआसपासका बासिन्दा धुलोबाट आजित छन् । विशेषगरी सर्लाही, बारा, वीरगञ्ज, हेटौंडालगायत क्षेत्रबाट छुट्ने टाटा सुमो र साना निजी गाडी यही मार्ग भएर गुड्छन् । मध्यम किसिमका सवारीको चाप हुने यो सडकमा पानी पर्नासाथ सवारी साधन गुड्न सक्दैनन् ।
कालोपत्रे उप्किसकेकाले मोटरसाइकल चलाउन पनि जोखिमपूर्ण छ । यात्रु पनि धुलोका कारण पीडित छन् ।
स्थानीय बासिन्दामा कालोपत्रे गरिएपछि धुलो र हिलो कम हुने अपेक्षा थियो । उनीहरुले जिविस र ठेकेदारलाई दोषि देखाउँदै आएका छन् ।
‘ओटासिल नै भए पनि तीन महिना दिन त टिक्नुपर्थ्यो, १५ दिन पनि टिकेन,’ फाखेलका सुरेश लामाले भने, ‘सडकभरि पहिरो आउनेगरी बिनाइन्जिनियरिङ अध्ययन सडक निर्माण गर्दा कान्ला भासियो । अहिले सडकमा पहिरो नै पहिरो छ ।’
उनले भनेजस्तै गरी सडक विस्तार गरिएका कारण धेरै स्थानमा पहिरो खसेको छ । नालाहरु थुनिएका छन् भने खाल्डा नै खाल्डा छन्, सडकमा ।
तर, एकतर्फी रुपमा सवारी चल्ने गरी पहिरो हटाए पनि धेरै स्थानमा जोखिमयुक्त अवस्था छ । भर्खरै तयार भएको सडकमा पनि सवारी चलाउन निकै मुस्किल परेको यही रुटमा सुमो चलाउने वीरगञ्जका मनोज अन्सारी बताउँछन् ।
कतिपय खण्डमा ठेकेदारले काम नसक्दै जिविसले भुक्तानी दिएको आरोप स्थानीय बासिन्दाको छ ।
जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख सोमराज तिमल्सिना ओटासिल उप्किएको स्वीकार्छन् । अब यसमा स्यान्ड-सिलसहितको ‘सेकेन्ड कोट ओटासिल’ गर्न लागिएको उनी बताउँछन् ।
‘अब यसमा अर्को लेयर अेटासिल पनि गर्छौं,’ तिमल्सिनाले भने, ‘यसअघि देखिएका सबै समस्या समाधान हुनेगरी पूरै खण्डमा स्यान्ड-सिलसहितको ओटासिल गर्न लागेका छौं ।’
विश्व बैंकसँग जिविसले यस सडकको समथर भागमा १६ मिलिमिटर र उकालोमा ३२ मिलिमिटर बाक्लो ओटासिल गर्ने सम्झौता गरेको छ ।
तर, पाँच मिलिमिटर पनि ओटासिल नगरिएका कारण सडक पुरानै अवस्थामा फर्किएको स्थानीय बासिन्दा बताउँछन् । गुणस्तरहीन काम हुँदा पनि कसैले ध्यान नदिएको गुनासो गर्छन्, स्थानीय श्यामलाल ठकुरी ।
इन्जिनियर तिमल्सिनाले दोहोरो ओटासिलका लागि लागि विश्व बैंकले सडक परियोजनामा थप ५५ लाख ‘भेरिएसन’ दिएको बताए । उनले अहिलेसम्म कम्पनीलाई १० करोडभन्दा बढीको भुक्तानी दिइसकेको जानकारी दिए ।
‘भएको कामको भुक्तानी गरिसक्यौं । अब बाँकी भेरिएसनसहितको काम सकेपछि मात्रै दिन्छौं,’ इन्जिनियर तिमल्सिनाले भने ।
सरकारले दीर्घकालीन महत्वका सडकमा अस्फाल्ट -बाक्लो र गुणस्तरीय) कालोपत्रे गर्न खासै चासो नदिँदा त्यसको फाइदा भने ठेकेदार कम्पनीले उठाइरहेका छन् । सडकको ओटासिल चाँडै उप्किने तर्क गर्दै कमसल काम गरिरहँदा राज्यका निकाय पनि आँखा चिम्लिएर बसेका छन् ।
सरकारले पनि ओटासिलमा खर्च गर्नुको साटो अस्फाल्ट पिचमा ध्यान दिन सकेको छैन । दातामार्फत् बनेका सडकमा पनि ओटासिलकै प्रयोग गर्ने सरकारी नीति पनि हास्यास्पद छ ।
१५ किलोमिटरको सडक स्तरोन्नतीमा झण्डै १४ करोड खर्चिँदा पनि त्यसले स्थानीयवासीलाई कुनै लाभ दिन सकेको देखिँदैन । त्यसैले फाखेल क्षेत्रका बासिन्दा सरकारले गरेको खर्चलाई ‘बालुवामा पानी’को संज्ञा दिइरहेका छन् ।
२०५७ सालमा स्थानीय बासिन्दा र जिविसको पहलमा यो सडक निर्माण भएको थियो । यसअघि पनि यो सडकमा झण्डै तीन करोड खर्चिएर ओटासिल नै गरिएको थियो ।
२०६८ मा दुई करोड ५३ लाख ३८ हजार रुपैयाँमा ओटासिल गरिएको सडक तुलनात्मक रुपमा अहिलेभन्दा बढी टिकेको स्थानीय बासिन्दा बताउँछन् ।
प्रतिक्रिया