२०८३, १८ कार्तिक बुधबार

एमालेको कमजोर जनमतबारे आत्मसमीक्षा आवश्यक छ, विगतका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्छ : शंकर पोखरेल

एमालेको कमजोर जनमतबारे आत्मसमीक्षा आवश्यक छ, विगतका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विगतको गम्भीर समीक्षा र कमजोरीको पहिचान नगरी नयाँ राजनीतिक यात्रामा अघि बढ्न नसकिने बताएका छन्। पार्टी सञ्चालनदेखि राज्यसत्ता सञ्चालनसम्म भएका कमी–कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने उनको भनाइ छ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमालेले विगतमा सरकारको नेतृत्व गर्दा गरेका काम र हासिल गरेका उपलब्धिका बाबजुद जनमत विस्तार गर्न नसकेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले २०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन नसकेको प्रसङ्ग उठाउँदै सरकारमा पुग्नु र जनताको विश्वास विस्तार गर्नु फरक विषय भएको उल्लेख गरे।

‘२०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन सकेन। समाजलाई परिवर्तन गर्ने उद्देश्य राखिएको पार्टीले शक्तिशाली सरकार निर्माण भएका बेला जनमत विस्तार गर्न किन सकेन भन्ने कुरा हाम्रो मूल्याङ्कनको विषय बन्नुपर्दछ,’ उनले भने।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको स्वीकार गरे। पार्टीकै नेतृत्वमा सरकार रहेका बेला भएका ती घटनाले पार्टीको राजनीतिक अवस्था र भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।

उनले उक्त घटनापछिको राजनीतिक परिस्थितिलाई एमालेले प्रतिगमनको दिशामा उन्मुख भएको रूपमा विश्लेषण गरेको र भू–राजनीतिक स्वार्थ तथा चुनौतीको सामना गर्ने रणनीतिसहित अघि बढेको बताए। यद्यपि, फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार जनमत प्राप्त गर्न नसकेको उनले स्वीकार गरे।

प्रत्यक्ष निर्वाचनतर्फ एमाले नौ सिटमा सीमित हुने अवस्था पार्टीका लागि कल्पनाभन्दा बाहिरको विषय रहेको उल्लेख गर्दै उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षाका लागि बाध्य बनाएको बताए।

निर्वाचनपछि कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरिएको र त्यसकै आधारमा पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उनले जानकारी दिए। कार्यदलले प्राप्त सुझावका आधारमा सहमतिमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार गरेको र केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका समस्या पहिचान गर्दै आगामी कार्यदिशा निर्धारण गरेको उनको भनाइ थियो।

पोखरेलका अनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन दुई प्रमुख कार्यभार र १५ वटा काम तय गरिएका छन्। ती कार्यभार कार्यान्वयन गर्दै संगठनात्मक कमजोरी सच्याउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र पार्टीलाई बदलिँदो राजनीतिक परिस्थितिअनुकूल रूपान्तरण गर्ने प्रयास भइरहेको छ।

उनले विगतका उपलब्धिको चर्चा गरेर मात्र वर्तमान चुनौतीको सामना गर्न नसकिने उल्लेख गर्दै कमजोरी स्वीकार्ने, त्यसबाट पाठ सिक्ने र व्यवहारमा सुधार ल्याउने प्रक्रियालाई पार्टी रूपान्तरणको आधार बनाउनुपर्ने सन्देश दिएका छन्।

पोखरेलको सम्बोधनले एमालेको पछिल्लो निर्वाचन परिणाम, जनमत विस्तारमा देखिएको कमजोरी र पार्टी पुनर्गठनको आवश्यकतालाई केन्द्रमा राख्दै आत्मसमीक्षा तथा संगठनात्मक रूपान्तरणको बहसलाई अघि सारेको छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  १ : २१ बजे

सरकारले हटायो आईजीपी दानबहादुर कार्की

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको

जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको

काठमाडौंमा प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन (तस्वीरमा)

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी

एमालेविरुद्धका भ्रम चिर्न तथ्य र प्रमाणसहित मैदानमा उत्रिनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी